• २७ चैत २०८२, शुक्रबार

विश्वशान्तिका लागि वार्ता

blog

नेपाल शान्तिप्रिय देश हो । शान्ति स्थापनार्थ युद्धका विरुद्ध सधैँ पैरबी गर्दै आएको नेपालले संयुक्त राष्ट्रसङ्घमा शान्तिसेनामार्फत विश्वमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ । युद्धले विनाश निम्त्याउँछ, शान्ति ल्याउँदैन । आजको अन्तरनिर्भर विश्वमा शान्ति र मेलमिलापको विकल्प युद्ध हुन सक्दैन । विश्वको कुनै एक ठाउँमा युद्ध सुरु भयो भने त्यसको असर सर्वत्र पर्छ । पश्चिम एसियामा भएको युद्धले सारा विश्व प्रभावित भएको छ । यसले विश्व अर्थतन्त्रलाई मात्रै चुनौती दिएको छैन, विश्ववासीकै उपभोक्ताको भान्सासम्म महँगी र अभाव उत्पन्न गराएको छ । इन्धनको आपूर्ति सहज नहुँदा मूल्यवृद्धि र अभाव सामना गर्नु परेको छ । हवाई र सार्वजनिक यातायातको भाडा बढेको छ । विगत पाँच वर्षदेखि रुस र युक्रेन युद्ध गरिरहेका छन् । यसको असर विश्व बजारमा परिरहेको छ । यो युद्ध साम्य नहुँदै अहिले अमेरिका–इजरायलको इरानसँग भएको युद्धले ठुलो सङ्कट ल्याएको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध आक्रमण गरेसँगै चर्केको पश्चिम एसिया युद्धले सबैलाई चिन्तित बनाएको छ । यो युद्धको विधिसम्मत निकास निकालिएन भने विश्वशान्ति नै खतरामा पर्ने सम्भावना बढेको छ । 

पाकिस्तानको विशेष पहलमा अहिले अस्थायी युद्धविराम भएको छ । यो युद्धविरामले सबैलाई क्षणिक भए पनि राहत दिएको छ । नेपाल सरकारले यस युद्धविरामको स्वागत गर्दै स्थायी शान्तिको कामना गरेको छ । ४० दिनसम्म भएको युद्ध दुई साताका लागि रोकिएको छ । अमेरिका र इरानबिच आजदेखि पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता हुँदै छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्दै हुनुहुन्छ ।  उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न आमन्त्रित गर्नुभएको छ । पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ताका रूपमा देखा परेको छ । प्रधानमन्त्री सरिफले ‘इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । तेहरान र वासिङ्टन दुवै राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानको सभ्यतालाई नै नष्ट गरिदिने चेतावनीसहितको समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघि मात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि सहमति भएका हुन् ।

इरानको विवादास्पद आणविक कार्यक्रमलाई लिएर पछिल्ला दिनमा अमेरिका र इरानबिच विभिन्न चरणमा वार्ता भएका थिए । वार्ता भइरहेका बेला अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । सुरुमै इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आय तोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए । यो घटनासँगै इरानले हात उठाउने अपेक्षा गरिएको थियो तर इरान झन् आक्रामक बन्यो ।  त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको हो । इरानसमर्थित लेबनानको विद्रोही समूह हेजबुल्लाह र यमनको हुथी विद्रोही समूहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान र यमन पनि द्वन्द्वमा तानिए । ४० दिनको यो युद्धले पश्चिम एसिया मात्र होइन पूरै विश्वमै अस्थिरता र त्रास फैलायो । जनधनको ठुलो क्षति भयो । कच्चा तेलको मूल्य एकाएक बढेर प्रतिब्यारेल ११० डलरसम्म पुगेको थियो भने सेयर बजार ओरालो लागेको थियो । 

बुधबार बिहानै युद्धविराम भएसँगै विश्वभरि नै ठुलो राहतको अनुभव गरियो । बमबारी रोकियो ।  बुधबारै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ डलरमा झ¥यो भने एसियाली बजारमा सेयर बजारमा सुधार आयो । यो युद्ध रोकाउन चीन, टर्की र इजिप्टले पनि सहयोग गरेका छन् । युद्धविराममा सहमति जनाएपछि अमेरिका र इजरायल दुवैले आफूलाई विजयकर्ता घोषणा गरेका छन् । युद्धविरामसँगै विश्वभरिबाट आएका प्रतिक्रियाले पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेको छ ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गर्नुभएको छ । दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, इराकले युद्धविरामलाई स्वागत गर्दै अमेरिका र इरानलाई गम्भीर र दिगो संवादका लागि आह्वान गरेका छन् । इरानले अमेरिकी प्रतिबन्ध हटाउने, हर्मुज जलमार्गमा आफ्नो प्रभुत्व स्वीकार गर्नुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग अघि सारेको छ । राष्ट्रपति ट्रम्पले भने कुनै पनि अन्तिम सम्झौतामा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याइनुपर्ने बताउनुभएको छ । अब यी विषयमा घनीभूत वार्ता गरी पुनः युद्ध नहुने अवस्था बनाउनु पर्छ ।