चन्द्रपुर (रौतहट), चैत २७ गते । रौतहटका प्रतिनिधि सभा सदस्य डा. शाहजान खातुनले नीति निर्माण गर्ने ठाउँमा आफू पुगेकाले समाजमा विद्यमान विभिन्न खालका समस्या समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले आफूले प्राप्त गरेको अवसरलाई जनताको हितका लागि सदुपयोग गर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रसँग आफू सम्बन्धित रहेकाले स्वास्थ्य क्षेत्रमा यहाँ देखिएको बेथिति, शोषण जस्ता समस्या समाधान गर्न काम गर्ने उहाँले बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मीलाई कामको मूल्याङ्कनका आधारमा पारिश्रमिक नरहेकाले त्यस सम्बन्धमा सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । देशभरिकै अस्पतालमा दरबन्दी अनुसारको दक्ष जनशक्तिको व्यवस्था, आवश्यक उपकरणको व्यवस्थालगायतका लागि आफ्नो प्रयास जारी रहने उहाँले बताउनुभयो ।
आफ्नो पार्टी सरकारमा नभए पनि सदनमार्फत सार्वजनिक सरोकारका समस्या कार्यान्वयन गराउने कार्यमा पछि नहट्ने उहाँले बताउनुभयो । स्वास्थ्य, शिक्षा र कृषि गरी तीन वटा विषयलाई प्राथमिकतामा राखेको भन्दै उहाँले मदरसा शिक्षा विधेयक संसद्बाट अनुमोदन गराउन आफू प्रयासरत रहने बताउनुभयो । मदरसा दर्तालाई अनिवार्य गराई सबै मदरसामा एकै पाठ्यक्रमको व्यवस्था हुनुपर्ने उहाँको माग छ । वर्तमान अवस्थामा हाल जोसुकैले पनि मदरसा सञ्चालन गर्ने अवस्था रहेकाले यसको नियमन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रौतहटवासीको अर्को मुख्य समस्या भनेको बाढी हो । यसको दीर्घकालीन निकास निकाल्नुपर्ने उहाँले माग गर्नुभयो । रौतहटका अधिकांश जनता बाढीको समयमा त्रासमै बाँच्नुपर्ने अबस्था रहेको बताउँदै उहाँले समाधान गर्न आफूले पहल गर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य खातुनले यहाँका किसान प्रायः पीडित नै रहनुपर्ने अवस्था रहेकाले किसानलाई मुख्य प्राथमिकता दिनुपर्ने कुरामा आफूले सदनमा अवाज उठाउने बताउनुभयो ।
किसानलाई आवश्यक परेका बेला मल, बिउ, सिँचाइको व्यवस्था गर्नु सरकारको कर्तव्य हो, त्यसका लागि पनि आफूले सदनबाट पहल गर्ने बताउँदै उहाँले बाली नष्ट भएपछि त्यसको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले समाजिक सुधारका अन्य योजनाका साथै पार्टीको वाचापत्रमा भएका कुरालाई कार्यान्वयनमा लैजान सदनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
रौतहटमा विभिन्न सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय डा. खातुन नेपाली कांग्रेस पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १० मा ४० वर्षअगाडि जन्मनुभएका डा. खातुनको बिहेबारी १६ वर्षअगाडि रौतहटको गौरमा भएको थियो । उहाँले बङ्गलादेशबाट चिकित्साशास्त्रमा स्नातक गर्नुभएको छ । हाल उहाँ पोखरा विश्वविद्यालयबाट पोषण तथा आहार विज्ञानमा स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस पार्टीको पिछिडिएको क्षेत्रको विभागका केन्द्रीय सदस्यका साथै नेपाली कांग्रेस मधेश प्रदेश स्वास्थ्य विभागका सचिवको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गौर नगरपालिकामा नगर उपप्रमुखको प्रत्याशी रहनुभएका उहाँलाई राज्य संयन्त्रमै पसेर यहाँका पिछडिएका क्षेत्र, मधेशी, मुस्लिम, महिलाका लागि काम गर्ने इच्छाशक्ति आएपछि राजनीतिमा आएको उहाँले बताउनुभयो ।