• २७ चैत २०८२, शुक्रबार

विवाहित महिलालाई कम्प्युटर तालिम दिने तयारी

blog

फुङ्लिङ नगरपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २७ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले विवाहित महिला (बुहारी) लाई कम्प्युटर तालिम दिने तयारी गरेको छ । नगरपालिकाभित्रका विवाहित महिला अर्थात् बुहारीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने तयारी गरिएको हो ।

फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार विवाहित महिलालाई कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो । चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विवाहित महिलालाई तीन महिने निःशुल्क कम्प्युटर शिक्षासम्बन्धी तालिम दिने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो ।

बुहारीको जिम्मेवारीमा पुगेको अर्थात् विवाहित महिलालाई कम्प्युटरको पहुँचमा पुर्‍याउने उद्देश्य राखेर कम्प्युटर तालिम दिन लागेको नगरपालिकाले जनाएको । प्रविधिको विकाससँगै पछिल्लो समय कम्प्युटर शिक्षा अनिवार्य जस्तै हुँदै गएपछि नगरपालिकाको योजनाअनुसार विवाहित महिलालाई कम्प्युटर तालिम दिन लागिएको फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाको भनाइ छ ।

नगरपालिकाका अनुसार कम्तीमा एसएलसी वा एसइई उत्तीर्ण गरेका विवाहित महिलालाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिने छ । निमित्त प्रमुश प्रशासकीय अधिकृत पौडेलका अनुसार नगरपालिकाले तयार पारेको शैक्षिक योग्यतासहित मापदण्ड पुग्ने विवाहित महिलालाई कम्प्युटर तालिम प्रदान गरिने छ ।