सन्तोष दहित
दाङ, चैत २७ गते । दाङको तुलसीपुर उपमहानगरपालिका ११ सुकौराकोटस्थित थारु राजा दंगीशरणको भग्नावशेष दरबारमा पुनः उत्खनन कार्य सुरु गरिएको छ । पुरातत्व विभाग, काठमाडौँको टोलीले उत्खनन सुरु गरेको थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले जानकारी दिनुभयो ।
यसअघि दरबारको उत्खनन् दुईपटक गरिए पनि पूर्णता पाउन सकेको थिएन । यसपटक भने सम्पूर्ण उत्खनन् सम्पन्न गर्ने लक्ष्यसहित पुरातत्व विभागको टोली सक्रिय रहेको उहाँले बताउनुभयो । उत्खननका क्रममा हजारौं वर्ष पुराना इट्टाका पर्खाल तथा जगहरू फेला परेका छन् । साथै, थारु समुदायसँग सम्बन्धित विभिन्न सामग्रीहरू पनि भेटिन थालेका छन् ।
चौधरीका अनुसार थारू समुदायमा परम्परादेखि पूजापाठमा प्रयोग हुँदै आएका माटोका घोडा, माटोका भाँडाकुँडा तथा थारु संस्कृतिसँग मिल्दोजुल्दो अन्य सामग्रीहरू पनि उत्खननका क्रममा फेला परेका छन् ।