• २६ चैत २०८२, बिहिबार

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

blog

गोलबजार (सिरहा), चैत २६ गते । सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ।

हाल उहाँलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । 

पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् । रासस