• २६ चैत २०८२, बिहिबार

कपिलवस्तुमा आर्थिक गणना प्रभावकारी बनाउन प्रशिक्षण

blog

गणक तथा सुपरिवेक्षकका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रम । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), चैत २६ गते । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन गणक तथा सुपरिवेक्षकका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । 

चैत २६ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुने उक्त तालिम जिल्लामा गणनाको कार्यलाई व्यवस्थित र विश्वसनीय बनाउन लक्षित गरिएको हो ।

जिल्लामा आर्थिक गणना कार्यालयका प्रमुख मनोहर हरिजनले आर्थिक गणनाका लागि ६३ जना गणक र ८ जना सुपरिवेक्षक परिचालन गरिने बताउनुभयो । उहाँले प्रशिक्षण मार्फत तथ्याङ्क सङ्कलनका विधि, प्रविधि, फाराम भर्ने तरिका, सूचनाको शुद्धता तथा गोपनीयता सम्बन्धी विषयमा जानकारी गराइने बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी एवं आर्थिक गणना समन्वय समितिका संयोजक जनार्दन गौतमले आर्थिक योजना निर्माण र नीतिनिर्धारणका लागि यथार्थपरक तथ्याङ्क अत्यन्त आवश्यक हुने बताउनुभयो । उहाँले गणक तथा सुपरिवेक्षकलाई जिम्मेवारीपूर्वक, निष्पक्ष र प्रभावकारी रूपमा तथ्याङ्क सङ्कलन गर्न आग्रह गर्नुभयो ।

तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादीन कुर्मीले आर्थिक गतिविधिको वास्तविक अवस्था पहिचान गर्न यस्ता गणनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै तथ्याङ्क सङ्कलनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले गणनाको कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सुरक्षा सहयोग उपलब्ध गराइने बताउनुभयो । उहाँले सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।