• २६ चैत २०८२, बिहिबार

जेसीज कप फुटबलको सेमिफाइनल समिकरण पूरा

blog

बल खोस्ने प्रयास गर्दै गुठी युनाइटेड (रातो) र विद्या मन्दिर (एभिएम) (वैजनी जर्सी) का खेलाडिहरु । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २६ गते । गण्डकी प्रदेशस्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार बाङेचौर खेल मैदानमा सम्पन्न खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र र गहते युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । यसअघि बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेल जित्दै गण्डकी प्रदेश प्रहरी सेमिफाइनलमा पुगिसकेको छ । 

बिहीबारको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी आदर्श विद्या मन्दिर (एभिएम) लाई ट्राइबेकरमा ५–३ गोलले निराश बनाउँदै डिफेन्डिङ च्याम्पियन गुठी युनाइटेड सेमीफाइनलमा प्रवेश गरेको हो । ट्राइबेकरमा गुठी युनाइटेडका आशिष गुरुङ, राहुल गुरुङ, सम्राट लिम्बु, उडोका र दिप कार्की गोल गर्न सफल हुनुभयो । 

एभिएमका दिव्या विक्रम, युवराज ढकाल, माइकल मगरले गोल गर्दा रोनिश रजकको प्रहारमा गोलबारमा लागेर बाहिरिएको थियो । यस्तै, मर्दी युनाइटेड पैयु पर्वतको टोलीलाई १–२ गोलले पराजित गर्दै बागलुङ सुधार केन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको १३ औं मिनेटमा टिकराज गुरुङले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दिलाएको अग्रता जोगाउन नसक्दा पराजयको पीडा बोक्दै मर्दी युनाइटेड घर फर्किएको छ । 

खेलको दोस्रो हाफमा बागलुङ सुधार केन्द्रका अभिषेक केसीले गोल गर्दै खेललाई बराबरीमा गर्नुभएको थियो । खेलको इन्जुरी समयमा विशाल नेपालीले गोल गर्दै केन्द्रको जित सुनिश्चित गर्नुभएको थियो ।  

बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बागलुङ कालिका युवा क्लबलाई ०–१ गोलले पराजित गर्दै गहते युवा क्लबले सेमीफाइलको यात्रा तय गरेको छ । शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरी र दोस्रो खेलमा गुठी युनाइटेडले गहते युवा क्लबको सामना गर्ने प्रतियोगिताको म्याच कमिसनार सूर्य लामिछानेले जानकारी दिनुभयो । 

बागलुङ सुधार केन्द्र जेसीज कपको दोस्रो र गुठी युनाइटेड तेस्रो संस्करणको च्याम्पियन टोली हो । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२–१२ हजार रुपियाँ प्रदान गरिनेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०–१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५–५ हजार रुपियाँ र ट्रफी प्रदान गरिनेछ ।