काठमाडौँ, चैत २६ गते । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसका अवसरमा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदानप्रदान गर्दै सामाजिक विकास एवं सुशासनलाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सभामुख अर्यालले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा कुनै त्रुटि गर्न नहुने बताउनुभयो । उहाँले संस्थागत वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । जनताको मुहारमा खुसी ल्याउन र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायतका विषयमा सबै तहका सरकारबिच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।