राममणि दाहाल
मकवानपुर, चैत २६ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ बस्तीमा विद्युतीकरण गर्न र जीर्ण अवस्थामा पुगेका काठका विद्युतीय पोल हटाउन ऊर्जामन्त्रीको ध्यानाकर्षण गराइएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसहितको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई बिहीबार भेटी विद्युत् विस्तार र काठेपोल हटाउन माग गर्दै ध्यानाकर्षण गराएको हो ।
सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा विद्युत् र सडकजस्ता विकासका पूर्वाधारको पर्याप्त पहुँच नपुगेका कारण आर्थिक अवस्था कमजोर र जीवन कष्टकर रहेको भन्दै मन्त्री श्रेष्ठलाई समस्या समाधानका लागि आग्रह गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । गाउँपालिकाको विद्युतीकरण भएका स्थानमा पनि काठका पोलका कारण दुर्घटनाको जोखिम अत्यधिक रहेको भन्दै ती पोल विस्थापित गर्न माग गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ को जम्मुओढारमा नयाँ विद्युत् विस्तार गर्न तथा माछाबेँसी, थुम्की, आँपबारी, बरेटार, कालीधाप, सिमिटार, निङराङ, स्यामाङलगायत स्थानका काठेपोल विस्थापित गर्न मन्त्रालयसँग माग गरिएको छ । यस्तै, वडा नम्बर ३ को गुल्मेटदेखि चमेरो गुफासम्म, वडा नम्बर ४ को बिन्देश, लुभुटि, छाकाडाँडालगायत स्थान तथा वडा नम्बर ५, ६, ७ र ९ का विभिन्न स्थानमा नयाँ विद्युत् लाइन विस्तार गर्न पालिकाले माग गरेको छ ।
यसै गरी वडा नम्बर २, ३, ४ र ७ का थुम्की, आँपबारी, केराबारी, आलखोप, सरिखेत, लुथरी, भोल्र्याङ, रानीवाङ, हात्तीछाल चौतारा, जिर्खेडाँडा, घट्टखोला, माइसिराङलगायत स्थानमा रहेका जीर्ण काठेपोल हटाउन माग गरिएको अध्यक्ष मल्लले बताउनुभयो । मन्त्री श्रेष्ठले पालिकाको मागप्रति सकारात्मक रहेको र क्रमशः समाधान गर्दै जाने प्रतिक्रिया दिनुभएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल पालिकाको चेपाङ बस्तीमा विद्युतीकरण र जीर्ण काठेपोल हटाउन माग गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई पत्र बुझाउँदै ।