• २६ चैत २०८२, बिहिबार

राप्तीमा घडियालको गुँड खोज्दै निकुञ्ज

blog

राप्ती नदीमा देखिएको घडीयाल र प्रजनन केन्द्रमा संरक्षण गरिएका घडीयाल । तस्बिरः शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, चैत २६ गते । विश्वमै अति संकटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारमा गुँड खोज्ने अभियान सुरु गरेको छ ।

हरेक वर्ष चैत र वैशाख महिनामा सञ्चालन गरिने यस अभियानअन्तर्गत नदी किनारका जोखिमपूर्ण गुँडहरूबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा सुरक्षित रूपमा बच्चा कोरल्ने गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, यही चैत १ गतेदेखि सुरु भएको यो खोजी कार्य वैशाख १० गतेसम्म (४५ दिन) निरन्तर चल्नेछ । यस वर्ष राप्ती नदीमा मात्र केन्द्रित भएर गुँड खोज्न बोटे समुदायका विज्ञ संरक्षणकर्मीलाई परिचालन गरिएको छ ।

नदी किनारमा फेला परेका गुँडहरूको अवस्था विश्लेषण गरेपछि मात्र अण्डा संकलनको निर्णय लिइन्छ । बाढीको जोखिम, मानवीय चाप, अन्य जनावरबाट हुन सक्ने क्षति र उपयुक्त तापक्रमको सम्भावना हेरेर मात्र संकलन प्रक्रिया अगाडि बढाइने निकुञ्जले जनाएको छ ।

प्राकृतिक रूपमा सुरक्षित मानिने गुँडलाई यथास्थानमै छोडिन्छ भने जोखिमयुक्त गुँडबाट अण्डा निकालेर कसरास्थित प्रजनन केन्द्रमा लगिन्छ । त्यहाँ हुर्किएका गोहीहरू आफैँ आहारा खोज्न सक्ने भएपछि पुनः प्राकृतिक बासस्थानमा छाडिन्छ ।

जनप्रतिनिधिको संरक्षण मोहः ४५ दिन बिदा लिएरै अभियानमा भरतपुर महानगरपालिका –१३ का वडा सदस्य कालु बोट जनप्रतिनिधिको जिम्मेवारीसँगै वर्षौँदेखि गोही संरक्षणमा सक्रिय हुनुहुन्छ । उहाँ यस वर्षको ४५ दिने अभियानका लागि समय व्यवस्थापन गरेरै सुरेश बोटसँगै राप्तीको तीरमा अण्डा खोज्न खटिनुभएको छ । 

“अहिलेसम्म करिब २०–२२ वटा गुँड फेला पारेका छौँ” बोटले भन्नुभयो, “निकुञ्जका कर्मचारीसँगको समन्वयमा गुँडको सुरक्षा अवस्था पहिचान गरी अण्डा निकाल्ने निधो गर्छौं ।” सन् १९७८ (वि.सं. २०३५) मा ‘फ्र्याङ्कफर्ट जुलोजिकल सोसाइटी’ (जर्मनी) को प्राविधिक र आर्थिक सहयोगमा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । सन् १९८१ बाट हुर्किएका गोही नदीमा छाड्न थालिएको यो परियोजना नेपालको संरक्षण इतिहासमा महत्वपूर्ण मानिन्छ ।

हालसम्म यस केन्द्रबाट विभिन्न नदीमा गरी करिब दुई हजार पाँचसयको हाराहारीमा घडियाल छाडिसकिएको छ । जसमध्ये राप्तीमा एक हजार छसय र नारायणीमा करिब पाँचको संख्यामा छोडिएको छ । सुरुका वर्षहरुमा कोशी, बबई, कर्णाली, कालीगण्डकी र पश्चिम राप्तीमा पनि गोही छाडिएको थियो ।

प्रजनन केन्द्रको सफलताका बाबजुद प्राकृतिक बासस्थानमा गोहीको संख्या अपेक्षाकृत बढ्न सकेको छैन । सन् २०२४ को गणनाअनुसार राप्ती र नारायणीमा गरी कुल दुईसय ६५ घडियाल मात्र भेटिएका छन् । संरक्षणकर्मीहरुका अनुसार औद्योगिक फोहोर, अवैध बालुवा उत्खनन र माछा मार्ने जाल गोही संरक्षणमा मुख्य चुनौती बनेका छन् । 

त्यसबाहेक बर्खाको बाढीले बगाएर भारत पु¥याएका गोहीहरूलाई फर्काउने कुनै कानुनी प्रावधान वा संयन्त्र छैन । पछिल्लो समयमा भाले गोहीको संख्या ज्यादै न्यून छ । सफा पानी र माछा मात्र आहार बनाउने यो घडियाललाई नेपालले साइटिस अनुसूची –१ सूचीकृत गरेको छ । यसको चोरी–शिकारी, अगको व्यापार वा क्षति पु¥याउनु कडा कानुनी अपराध मानिन्छ ।