• २७ चैत २०८२, शुक्रबार

नागरिक एपमा सेवा विस्तार, एक हप्ताभित्र थप सुविधा आउने

blog

काठमाडौँ, चैत २७ गते । सरकारले डिजिटल सुशासन सुदृढ गर्ने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको छ।

यसै क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको छ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार उक्त प्रणाली हाल परीक्षण चरणमा रहेको र आगामी एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।

चैत १३ गते मन्त्रिपरिषदबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ३५ मा यो विषय समेटिएको थियो। सो बुँदा कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमासहित कार्ययोजना तयार गरी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मातहतका निकायलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन निर्देशन दिनुभएको छ।

मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायसँग समन्वय सुरु गरिसकेको छ। सोही क्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी व्यवसायिक इन्जिनियरहरूको प्रमाणपत्रसमेत नागरिक एपबाट उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक साहले जानकारी दिनुभयो।

नयाँ प्रणाली लागू भएपछि नागरिकहरूले नागरिक एपमार्फत विभिन्न महत्वपूर्ण सेवा प्राप्त गर्न सक्नेछन्। यसअन्तर्गत लोक सेवा आयोगका परीक्षार्थीले प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि एनओसी, तथा निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरण एपबाटै प्राप्त गर्न सक्नेछन्।

यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) उपलब्ध गराउने सेवा सञ्चालनमा आइसकेको छ। अब थप सेवा एकीकृत भएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको योजना थप सशक्त हुने अपेक्षा गरिएको छ।