• २७ चैत २०८२, शुक्रबार

मुख्यमन्त्री कप भलिबल : क्वाटरफाइनलका खेल आजदेखि हुँदै

blog

घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिवल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : लीलाधर वली

घोराही, चैत २७ गते । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन् ।

लिग चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । घोराही–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा जारी प्रतियोगिताअन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा लिग चरणमा जित निकाल्न नसकेका दाङसहित कपिलवस्तु, बर्दिया र बाँके बाहिरिएका छन् । प्रतियोगिताअन्तर्गत शुक्रवार पहिलो क्वाटरफाइनल खेल गुल्मी र रोल्पा जिल्लाबिच हुने भएको छ ।

त्यसैगरी, महिलातर्फ नवलपरासी, कपिलवस्तु, प्यूठान र अर्घाखाँची जिल्लाका टिम बाहिरिएका छन् । महिलातर्फबाट रुपन्देही, पाल्पा, दाङ, रोल्पा, रुकुम पूर्व, बाँके, गुल्मी र बर्दिया जिल्लाका टिमले क्वाटरफाइनल प्रवेश गरेका हुन ।  

बिहीबार भएको प्रतियोगिताको पुरुततर्फको पाँचौँ खेलमा रुकुम पूर्वले दाङलाई ३–१ सेटले पराजित गरेको थियो । पहिलो सेट २६–२४ ले जितेको दाङ त्यसपछिका तीन सेट १०–२५, १९–२५ र २४–२६ ले गुमाउँदै पराजित हुन पुग्यो । छैटौँ खेलमा रुपन्देहीले बाँकेलाई सोझो तीन सेटमा हराउँदै २५–१८, २५–१५ र २५–१४ को जित निकाल्यो। सातौँ खेलमा रोल्पाले कपिलवस्तुलाई ३–० सेटले पराजित गर्दै २५–२२, २५–१४ र २५–२० को जित दर्ता गर्‍यो ।

आठौँ खेलमा प्यूठानले बर्दियामाथि ३–० को सहज जित निकाल्दै २५–१९, २५–१३ र २५–१५ को सेटमा जित निकालेको थियो । नवौँ खेलमा गुल्मीले रुकुम पूर्वलाई ३–१ सेटले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । गुल्मीले पहिलो सेट २५–२२ ले जित्दा दोस्रो सेट २२–२५ ले गुमाएको थियो भने त्यसपछि २५–२० र २५–१७ ले जित निकाल्न सफल भएको थियो ।

दशौँ खेलमा रुपन्देहीले पाल्पालाई ३–१ सेटले पराजित गर्दै अर्को जित हात पार्‍यो । रुपन्देहीले २५–२२, २२–२५, २५–२२ र २५–१९ को सेटमा जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो । एघारौँ खेलमा नवलपरासीले कपिलवस्तुमाथि ३–० को सहज जित निकाल्दै २५–१९, २५–२० र २५–१९ को सेटमा जित दर्ता गर्न सफल भएको थियो ।  चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता हुने टिमले नगद एक लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता हुने टिमले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।