नारद कोहार
तौलिहवा (कपिलवस्तु), चैत २७ गते । बाल्य र युवावस्थामै राजनीतिलाई नजिकबाट नियाल्नुभएका उहाँलाई राजनीतिमा स्थान बनाउन ठुलो सङ्घर्ष गर्नु परेन । विसं २०१५ अघिदेखि नै उहाँको परिवारसँग कांग्रेसको ‘लिगेसी’ थियो ।
विसं २०१५ को आमनिर्वाचनमा उहाँका हजुरबुवा शिवप्रताप शाहले जित हासिल गर्दै मन्त्रीसमेत हुनुभएको थियो । उहाँका बुवा पनि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य हुनुहुन्थ्यो । यस्तो राजनीतिक विरासत बोकेका अभिषेकप्रताप शाहले अन्य क्षेत्र रोज्ने कुरै भएन । उहाँले राजनीतिलाई नै आफ्नो जीवनको उद्देश्य ठानेर अघि बढ्नुभयो ।
जताततै नेपाली कांग्रेसले हार बेहोरिरहेको समयमा उहाँ कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ बाट विजयी हुँदै पाँचौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । आफ्नै पार्टीका पूर्वसहकर्मी नेकपा (एमाले) का उम्मेदवार वीरेन्द्रकुमार कानोडियालाई मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियालाई उहाँले पराजित गर्नुभयो ।
उहाँको राजनीतिक सुरुवात भने विसं २०६४ मा भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित उहाँका बुवा अजयप्रताप शाहको २०६४ सालमा निधनपछि उहाँलाई बुवाको स्थानमा अन्तरिम व्यवस्थापिका संसद्मा मनोनीत गरिएपछि उहाँको राजनीतिले गति लियो । उहाँ छोटो समयका लागि अन्तरिम व्यवस्थापिका संसद्मा पुग्नुभयो । राप्रपा, मधेशी जनअधिकार फोरम हुँदै उहाँ २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । २०६४ र २०७० मा मधेशी जनअधिकार फोरमबाट संविधान सभा सदस्यमा निर्वाचित उहाँ २०७४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कपिलवस्तु–३ मा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।
उहाँ भन्नुहुन्छ, “जनताले विश्वास गरेर भारी मत दिएका छन् । मतको सम्मान गरेर काम गर्नुपर्ने दायित्व थपिएको छ । यो मेरा लागि अवसर र जिम्मेवारी दुवै हो ।” युवाको भावना र मनोकाङ्क्षा बुझेर काम गर्न सक्ने क्षमता भएकाले नै आफ्नो विजय सम्भव भएको उहाँ बताउनुहुन्छ ।
२०३९ असोज १९ गते कपिलवस्तुमा जन्मिएका शाह २०६४ सालमा निर्वाचित हुँदा २५ वर्षको हुनुहुन्थ्यो । भारतको लखनउको बिबिएनआइटिएम कलेजबाट बिबिए उत्तीर्ण उहाँ युवालाई देशमा टिकाइराख्न लघुउद्यम र रोजगारीका लागि धेरै योजना आफूसँग रहेको बताउनुहुन्छ ।
“विकास र रोजगारीका लागि पैसा नभई हुँदैन । त्यसका लागि अहिलेको अवस्थामा वैदेशिक व्यापार व्यवसाय नै मुख्य हो,” उहाँले भन्नुभयो, “अब मुलुकको आर्थिक स्थिति मजबुत बनाउन जरुरी छ ।” अहिलेका युवाले क्रिकेटमा भविष्य खोज्न थालेकाले उनीहरूका लागि कृष्णनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने योजना उहाँको छ ।
शाहले शिक्षा क्षेत्रमा विशेष जोड दिने बताउनुभएको छ । उहाँले जिल्लाको समग्र विकासका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको औल्याउँदै त्यसको विस्तारलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले विद्यालय पूर्वाधार सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा आधुनिक शिक्षण प्रणालीको विकासमा जोड दिइने बताउनुभयो ।