वासुदेव शर्मा
जाजरकोट, चैत २७ गते । जाजरकोट सदरमुकाम खलंगामा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ। करिब २० वर्षअघिदेखि यातायातका साधन सञ्चालनमा आए पनि व्यवस्थित बसपार्क नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेका हुन्।
सदरमुकाममा दैनिक पाँच दर्जनभन्दा बढी लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत गर्ने गरेका छन्। गाडी राख्ने बसपार्क नहुँदा सडक किनारमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। भेरी नगरपालिका–४ शान्तिचौतारास्थित हालको बसपार्क सानो हुनुका साथै सर्वसाधारणको जग्गामा परेकाले एक दर्जन गाडी पार्किङ गर्नसमेत कठिन हुने गरेको छ।
भेरी गंगा यातायात प्रालिका सुनिल खनालले बसपार्क नहुँदा सडकमै गाडी पार्किङ गर्नुपरेको बताउनुभयो। जाजरकोटबाट नेपालगञ्ज, सुर्खेत तथा कालिमाटी–बारेकोट–तल्लुबगर हुँदै डोल्पा र रुकुम पश्चिमसम्म दैनिक तीन दर्जनभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरे पनि गाडी राख्ने उपयुक्त स्थान छैन। जाजरकोट–काठमाडौँसम्म पनि नियमित सवारीसाधन सञ्चालन हुँदै आएका छन्।
बसपार्क निर्माणका लागि सरोकारवालासँग पटक–पटक छलफल भए पनि शान्तिचौतारा बनाउने कि तल्लो थाप्ले बनाउने भन्ने विवाद टुंगोमा नपुग्दा पार्किङ समस्या समाधान हुन सकेको छैन। सरोकारवालाले ठोस निर्णय लिन नसक्दा बस व्यवसायी थप मर्कामा परेका छन्।
बसपार्क निर्माणका लागि छुट्याइएको स्थानमा सर्वसाधारणले अव्यवस्थित बसोबास गर्न थालेपछि समस्या झन् जटिल बनेको व्यवसायीको भनाइ छ।
भेरी नगरपालिका–४ का समाजसेवी खम्बजंग शाहले सरोकारवालाबिचको विवादकै कारण सडकमै सवारीसाधन राख्नुपर्ने अवस्था रहेको बताउनुभयो। पार्किङका लागि उपयुक्त स्थान नहुँदा क्षमता भन्दा बढी गाडी सडकमा राख्नुपरेको उहाँको भनाइ छ।
लामो तथा छोटो दूरीका सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहे पनि व्यवस्थित बसपार्क नहुँदा पार्किङ समस्या दिनप्रतिदिन बढ्दै गएको छ।