लमजुङ समाचारदाता
लमजुङ, चैत २७ गते । लमजुङको ग्रामीण क्षेत्रबाट उठेर राष्ट्रिय राजनीतिमा पुगेकी नेकपा (एमाले) की नेतृ टुकाभद्र हमालले दोस्रो पटक संसद्को यात्रा तय गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेम सङ्घ) को केन्द्रीय अध्यक्ष हमाल खसआर्य महिला क्लस्टर अन्तर्गत प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभएको हो ।
विद्यार्थी आन्दोलन, पञ्चायती शासनविरुद्धको भूमिगत सङ्घर्ष, सङ्गठन निर्माण र महिला नेतृ हुँदै दोस्रो पटक संसदीय राजनीतिमा पुगेकी हमालले महिला अधिकार, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका विषयमा आवाज बुलन्द बनाउने बताउनुभयो । २०१९ भदौ २२ गते लमजुङको दोर्दी गाउँपालिका–३, श्रीभन्ज्याङमा जन्मिएकी हमाल साधारण कृषक परिवारमा हुर्किनुभएको हो । बुवा वीरबहादुर हमाल र आमा विष्णुकुमारी हमालका पाँच सन्तानमध्ये उहाँ कान्छी छोरी हुनुहुन्छ । ग्रामीण जीवनका अभाव, श्रम र विशेष गरी महिलाले भोग्नुपर्ने समस्यालाई नजिकबाट अनुभूति गरेको उहाँ बताउनुहुन्छ । गाउँको सामाजिक संरचना, सामुदायिक सम्बन्ध र लैङ्गिक असमानताले बाल्यकालदेखि नै आफूमा परिवर्तनको सोच पलाएको उहाँले बताउनुभयो ।
गाउँकै लक्ष्मी माविमा कक्षा ७ सम्म अध्ययन गरेपछि उहाँ माथिल्लो कक्षा अध्ययनका लागि चितवनको गीतानगरस्थित अरुणोदय माविमा पुग्नुभयो । त्यहीँबाट उहाँले २०३७ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । २०३६ सालमा अनेरास्ववियु चितवन जिल्ला कमिटीको कोषाध्यक्ष बनेर औपचारिक राजनीतिक यात्रा सुरु गरेकी हमाल २०३७ साल जेठमा जिल्ला सम्मेलनबाट सचिवमा निर्वाचित हुनुभयो । पञ्चायती शासनको दमनबिच उहाँ भूमिगत हुनुभयो । चितवनमा पञ्चायती दमन बढेपछि पार्टीको निर्णय अनुसार लमजुङ आउनुभयो । लमजुङमै लुकीछिपी सङ्गठन विस्तार, कार्यकर्ता परिचालन र राजनीतिक चेतना फैलाउन थाल्नुभयो । २०३८ सालमा पार्टी सदस्यता प्राप्त गरेपछि उहाँ तत्कालीन नेकपा (माले) लमजुङ जिल्ला कमिटीको उपसचिव बन्नुभयो । पुनः अनेम सङ्घ जिल्ला कमिटी लमजुङको अध्यक्ष बन्दै महिला सङ्गठन विस्तारमा केन्द्रित बनेको उहाँले अनुभव सुनाउनुभयो ।
२०६२ देखि २०६६ सालसम्म पार्टीको गण्डकी अञ्चल कमिटी सदस्यका रूपमा काम गरेकी हमाल २०६६ सालको आठौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि गण्डकी अञ्चल सहइन्चार्ज र लमजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनुभयो ।
पार्टीको १० औँ र ११ औँ महाधिवेशनबाट पनि केन्द्रीय कमिटी सदस्य बनेकी हमाल २०७० सालमा संविधान सभा सदस्य बन्नुभएको थियो । संविधान सभामा उहाँले महिला अधिकार, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका विषयमा आवाज उठाउनुभयो ।
समानुपातिकबाट प्रतिनिधि सभा सदस्यका रूपमा पाएको जिम्मेवारीलाई पदभन्दा पनि ग्रामीण महिलाको आवाज पु¥याउने दायित्वका रूपमा लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् मेरा लागि केवल पद प्राप्त गर्ने थलो मात्र होइन, जिम्मेवारी वहन गर्ने ठाउँ हो । यहाँ पुग्नु भनेको धेरै महिलाको प्रतिनिधित्व गर्नु हो भन्ने बुझेकी छु । म महिलाका आवाजलाई संसद्सम्म पु¥याएर नीतिमा रूपान्तरण गराउने र व्यवहारमा कार्यान्वयन गराउने प्रयास गर्ने छु ।”