• २७ फागुन २०८२, बुधबार

परिवर्तनका प्रतीक ‘स्वस्तिक’

blog

काठमाडौँ, फागुन  २७ गते । ४५ वर्षदेखि भएका निर्वाचनमा निरन्तर जित हारको निर्णयक बनेको छ मतपत्रमा लगाउने ‘स्वस्तिक’ छाप । त्यही छापले उम्मेदवारलाई राष्ट्रपति, प्रधानमन्त्री, सांसद, मेयर, वडाअध्यक्ष बनाएको छ । 

नेपालमा निर्वाचनमा ‘स्वस्तिक’ छाप ठुला ठुला परिर्वतनको प्रतीक बनेको छ । आमनिर्वाचन २०८२ मा पनि ‘स्वस्तिक’ कै कारण स्पष्ट बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी संसद्मा पुग्दै छ । 

गोप्य मतदान सुरु भएपछि नेपालमा भएका निर्वाचनमा २०३७ सालदेखि मतदाताले चिह्न लगाउन ‘स्वस्तिक’ छापको प्रयोग गर्न थालेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । गोप्य मतदानको सुरुवातसँगै स्वस्तिक छापको प्रयोग सुरु भएको आयोगको अभिलेखमा उल्लेख छ । २००४ सालमा भएको म्युनिसिपालिटी निर्वाचनमा भने हरेक उम्मेदवारका अलग अलग मतपेटिका (ढ्वाङ) राखेर मत सङ्कलन गरिएको उहाँले बताउनुभयो । २०१८ सम्मको स्थानीय निर्वाचनमा खुला रूपमा उम्मेदवारका पक्षमा लाम लागेर मत प्रदर्शन गर्ने विधि पनि  अपनाइएको आयोगले जनाएको छ । प्रश्न उठ्छ, मतपत्रमा सामान्य सङ्केत गर्दा पनि हुने थियो नि ? तर धार्मिक तथा सांस्कृतिक व्रिmयाकलापमा ‘शुभकर्म’ जनाउन प्रयोग हुने  ‘स्वस्तिक’ नेपालमा ४५ वर्षदेखि मतसङ्केत जनाउने छापमा निरन्तर अघि बढाइएको छ । पहिलो संसदीय निर्वाचनका रूपमा २०१५ सालमा भएको निर्वाचनमा उम्मेदवार र दलको चुनाव चिह्न भएको मतपेटिका बुथमा राखिने र मतदाताले एउटा कागजको टुव्रmालाई मतपत्रका रूपमा बाकसमा खसाल्ने व्यवस्था भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख गरिएको छ । 

त्यसअघिका निर्वाचनमा उम्मेदवार अनुसारका अलग अलग बाकसमा मतसङ्केत पत्र खसाल्नेदेखि उभिएर उम्मेदवारका पक्षमा मत जनाउने अभ्यास भएका थिए । पण्डित प्रमोद शर्माका अनुसार वैदिक ग्रन्थमा पूर्वीय संस्कृति र हिन्दु धर्मसँग सम्बन्धित मानिने स्वस्तिक चिह्नलाई नेपाल, भारत, श्रीलङ्काले प्रयोग गर्ने गरेका छन् ।  

एसियाका धेरै मुलुकमा स्वस्तिक मतसङ्केतमा प्रयोग हुने गरेको छ । हिन्दु संस्कार अनुसार स्वस्तिक चिह्नलाई गणेशको प्रतीकका रूपमा लिने गरिन्छ । हिन्दु, बौद्ध र जैन धर्मले स्वस्तिकलाई शुभकर्मको साझा प्रतीकका रूपमा प्रयोग गर्ने भए पनि स्वस्तिक चिह्नलाई राजनीतिक तथा प्रशासनिक हिसाबले पनि प्रयोग गरेको इतिहास छ । 

स्वस्तिकको राजनीतिक प्रयोगको सुरुवात जर्मनीमा भएको हो । अति राष्ट्रवाद र नेतृत्वका पक्षमा एकताबद्ध हुने सन्देशसहित हिटलरले नाजीवाद प्रवर्धनका लागि स्वस्तिक चिह्न व्यापक प्रयोगमा ल्याएका थिए । धेरै जसो देशमा विद्युतीय भोटिङ मेसिन प्रयोगमा भए पनि वैधानिकता र विश्वसनीयताका लागि सङ्केतचिह्न जनाउने मतपत्र प्रयोग गर्ने गरिएको पाइन्छ । बेलायत, क्यानडा, अस्ट्रेलिया, आयरल्यान्डमा क्रस चिह्न प्रयोग गर्ने गरिन्छ ।  न्युजिल्यान्ड, स्विडेन, नर्वेमा टिक या क्रस प्रयोग गर्ने इतिहास छ । 

   

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।