गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ९ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ जिल्ला समितिले स्व. सत्यनारायणबहादुर श्रेष्ठ नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र पेस गरेको छ ।
बुधवार सत्यनारायण बहादुर श्रेष्ठको स्मृति तथा महासङ्घको ७५ औँ स्थापना दिवस मनाउँदै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फोनिज काठमाडौँले ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासङ्घ काठमाडौँ शाखा कार्यालय प्रवेशद्वारमा विरोध स्वरूप कालो व्यानर टाङ्गेर स्व. श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ ।
फोनिज काठमाडौँका अध्यक्ष भीमबहादुर लामाले ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको हकहित संरक्षण, पेसागत एकता र प्रेस स्वतन्त्रताको प्रवर्धन गर्न स्व. श्रेष्ठले गर्नुभएको योगदानलाई सम्मान गर्न माग गर्नुभयो । अध्यक्ष लामाले नेपाल पत्रकार सङ्घ (हाल नेपाल पत्रकार महासङ्घ)को जन्मदाता नै सत्यनारायणबहादुर श्रेष्ठ रहेको बताउँदै इतिहास र तथ्यलाई मेट्ने काम नगर्न महासङ्घ सम्बद्ध नेतृत्वलाई आग्रह गर्नुभयो ।
श्रेष्ठको सभापतित्वमा विसं २००८ वैशाख ९ गते नेपाल पत्रकार सङ्घको स्थापना गरिएको थियो । उच्चस्तरीय अध्ययन समिति गठन गरी स्व. श्रेष्ठलाई पत्रकार महासङ्घको संस्थापक अध्यक्ष घोषणा गरी उहाँको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा फोनिज काठमाडौँ शाखाका पदाधिकारीहरू, सङ्घीय समितिका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति थियो ।