भक्तपुर, मङ्सिर ११ गते । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तरविद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरेको छ ।
मध्यपुरठिमीस्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यकाभित्रका ६७ विद्यालयका विद्यार्थीहरूले निर्माण गरेका ९३ वटा वैज्ञानिक उपकरण तथा सामग्री प्रदर्शन गरिएको कलेजले जानकारी दिएको छ ।
दुई दिनसम्म चल्ने प्रदर्शनी मङ्सिर ११ र १२ गते सञ्चालन हुनेछ । प्रदर्शनीमा १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । पहिलो दिनमै चार हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेको कलेजले जनाएको छ ।

प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीहरूले विज्ञान तथा सूचना प्रविधितर्फको नविन आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोल्युसन मोडल, स्मार्ट होमलगायतका सामग्री प्रदर्शन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. रामेश्वर अधिकारीले यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञानसमेत प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस खालका कार्यक्रम शहरी क्षेत्रमा मात्र सीमित हुनु हुँदैन, ग्रामीण भेगका विद्यालय तथा कलेजमा पनि आयोजना हुन आवश्यक छ । सरकारले पनि यसखालको प्रदर्शनीलाई प्राथमिकतामा राख्नुपर्छ । शिक्षा मन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रमा विशेष योजना ल्याएर विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न सक्नुपर्छ । भावी पुस्तालाई विज्ञान तथा प्रविधिमै योग्य बनाउनु आजको आवश्यकता हो ।”
सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले साना उमेरका विद्यार्थीले दैनिक प्रयोगमा आउने उपकरणलाई फरक ढङ्गले प्रस्तुत गरेको देख्दा उत्साहित भएको बताउनुभयो ।

उहाँले मिड भ्याली मात्र नभई अन्य विद्यालयले पनि यस्ता प्रदर्शनीको आयोजना गर्न जरुरी रहेको बताउनुभयो । साथै विभिन्न विद्यालयका विद्यार्थीलाई प्रदर्शनीमा सहभागी भई ज्ञान अभिवृद्धि गर्न आग्रह गर्नुभयो ।
यस्तै, मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई मुख्य लक्ष्य बनाएर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
उहाँले एक वर्षअघि गरिएको प्रदर्शनीले विद्यार्थीमा सकारात्मक प्रेरणा दिएको उल्लेख गर्दै त्यसको प्रभावस्वरूप सूर्यविनायक नगरपालिकाले समेत नगरपालिका–स्तरको प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार, यसपटक सहभागी विद्यार्थीहरूले अपेक्षाभन्दा बढी नवप्रवर्तनशील आईटी सामग्रीहरू निर्माण गरेका छन् ।

मिड भ्यालीका अनुसार, उत्कृष्ट उपकरण तथा सामग्री निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कार प्रदान गरिनेछ भने सर्वाधिक भोट प्राप्त गर्ने एक टिमलाई अतिरिक्त सम्मान गरिनेछ । प्रदर्शनी प्रतियोगितामा प्रथमले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने कलेजले जानकारी दिएको छ ।
कलेजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई अनुसन्धान तथा नवप्रवर्तनतर्फ थप प्रोत्साहित गर्ने बताएको छ ।