• २१ असार २०८२, शनिबार

प्राण (कथा)

blog

जीवनको उत्तरार्धमा छु । मरेको छु कि बाँचेको छु, तरङ्गहरू आउँछन् जान्छन् । 

यसबेला आफ्नो जीवनलाई नियालेर हेर्दै छु । जीवनसङ्गिनीलाई नियालेर हेर्दै छु । उसका अनुहारमा चिन्ताका कुनै रेखा देख्दिनँ । आँखामा उदासी देख्दिनँ । हाम्रो सम्बन्धलाई नियालेर हेर्दै छु । यो सम्बन्धमा हार्दिकता, प्रेम, संवेदना केही देख्दिनँ ।  

उसका मामामाइजू आएका छन् । भन्न त मलाई भेट्न, हेर्न तर कुराकानीमा व्यस्त छन् उनीहरू । खिलखिलाएर हाँसेकी छे मेरी श्रीमती । उसकी माइजू हाँसेकी छन् । मामा हाँसेका छन् । ऊ भान्सामा व्यस्त छे । मामामाइजूलाई मिठोमसिनो पकाएर ख्वाउन ।  

मसित सङ्क्षिप्त बात मारे उनीहरूले । ‘डाक्टरले के भन्यो’ सोधेनन् ।  “हे, ठिक छ– केही भएको रहेनछ । अब हाम्रो ज्वाइँ तगडा...!” फेरि ‘हाहाहा’ गरेर हाँसे । 

के उनीहरूले मलाई सान्त्वना दिएका हुन् ? वा, मलाई रोगी छु भन्ने मनोविज्ञानबाट मुक्त पार्न चाहेका हुन् ? बुझ्दिनँ, बुझ्ने इच्छा पनि राख्दिनँ । मलाई लाग्छ, मेरो रोगमा सहानुभूति जताए हुन्थ्यो । किन हाँस्नु, गम्भीर भएर अब के गर्ने, सल्लाह दिए हुन्थ्यो । त्यसैले मलाई उनीहरू रावण लाग्छन् । उनीहरूको हाँसो रावण हाँसो...! 

खैर, अरू जोसुकै हाँसे पनि मेरी श्रीमती त नहाँस्नु नि । यस्तो किन लाग्छ मलाई भने मेरी श्रीमती पनि मेरो विपरीत कित्तामा उभिएकी छे ।  सोच्दछु, उसको र मेरो सम्बन्ध त नङ र मासुको जस्तो हुनुपर्ने । मेरो आँसुमा उसले आँसु चुहाउनुपर्ने, उसको आँसुमा मैले । मेरो दुःखमा ऊ दुःखी हुनुपर्ने, उसको दुःखमा म तर यस्तो लाग्दैन । किन यस्तो लाग्दैन ?  मामाको घर यसै टोलमा छ । नजिक छन्, आउँछन् जान्छन् । ठिकै छ तर घाउमा नुनचुक छरे झैँ गर्छन् मलाई, किन...? अर्को दिन । श्रीमती कमला अलिक दुःखी देखिई । नजिक आई । “अहिले कस्तो छ ?” सोध्ने होली भनेको विपरीत कुरा बोली, “माइजूलाई सन्चो छैन अरे, आज म उतै बस्छु ।” सजिलै भनिदिई ।  नहुने चाहना मनमा राख्नु पनि सायद अर्को दुःख उत्पादन गर्नु हो । कमलालाई चिनेको यस ३० वर्षको अवधिमा कति चाहना मेरा पूरा भए, कति अधुरा...? आफैँलाई झट्किन्छु । कमलालाई केही जवाफ दिन्नँ । उसले जवाफ मागेको भए पो दिनु । उसले त निर्णय सुनाएकी थिई– आज मामाघरमै बस्ने निर्णय...! 

ऊ निर्णय सुनाएर गई । घरमा छोराछोरी छैनन् । छोरो तेह्रथुममा छ जागिर खाँदै । छोरी पनि भर्खर जागिरमा लागेकी छे, नेपालगन्जमा छे ।  उसले चिच्याएको फेरि सुनेँ, “पकाएर त खान सक्नुहुन्छ होला नि ? यो भेटिनँ र त्यो भेटिनँ भनेर मलाई फोन नगर्नु । सबै भान्सामै छ, राम्ररी हेर्नु, भेटिन्छ ।” 

म त्यस्तो थलिएको पनि छुइनँ तर दुख्छ नि । शरीर त दुख्छ दुख्छ– मन पनि दुख्छ । शरीरको दुःख सहन सक्छु, सहँदै आइरहेको छु तर यो मनको दुःख ? सम्झियो कि आँखामा आँसु उम्रिन्छन् ।  

यो ३०÷३० वर्ष श्रीमतीलाई मैले मात्र एकतर्फी माया गरेको थिएँ कि जस्तो पनि लाग्छ । आज यो मन भारी छ । उखडिएको छ, लाग्दै छ । उसलाई आँखा चिम्लिएर नियाल्छु तर अहँ उसले कहिल्यै माया गरिन जस्तो लाग्छ । केवल मैले एकतर्फी माया गरिरहेँ– यस्तो लाग्छ । डाक्टरलाई ‘फलोअप’ मा देखाएर आएपछि कमलासित ठाकठुक परेको थियो ।  मैले भनेको थिएँ, “यो घर बेचौँ ।” 

उसले ठाडै अस्वीकार गरिदिएकी थिई, “पर्दैन । किन बेच्ने ?” “अनि औषधीलाई खर्च कहाँबाट ल्याउनु ? वर्षको दुई लाख ४० हजार कहाँबाट ल्याउनु ?”  

“जस्तो हुन्छ टर्दै जान्छ । भगवान् छैनन् हेर्ने ?” 

“अनि म मर्नु त ? औषधी त खानु प¥यो नि !” 

“लु भो, पर्दैन । जे जे डाक्टरले भन्यो, त्यही त्यही गरेर हुन्छ ?”  

त्यसपछि म चुप लागेको थिएँ । उसलाई त्यस बेला मैले खुबै एकोहोरिएर हेरेँ, “मेरी जीवनसाथी, सुखदुःखकी सहयात्री कमला तिमी नै हौ ?” तर, मुखबाट बोली फुटेको थिएन । को मान्छे, कुनबेला, कसरी चिनिने हो, भन्न सकिँदैन रहेछ । आफ्नै श्रीमतीलाई चिन्न मलाई ३० वर्ष पर्खिनु प¥यो । आँखामा त्यसैबेला आँसु उम्रिएका थिए ।  

मेरो किड्नीमा थुप्रै गाँठागुँठी रहेका छन् । त्यसलाई 

‘पोलिसिस्टिक किड्नी डिजिज’ भन्दा रहेछन् । १० वर्षदेखि प्रेसरको औषधी खाइरहेको छु । त्यसबेला डाक्टरले भनेका थिए, “तपाईंलाई १० वर्ष केही हुँदैन ।” 

अब १० वर्ष नाघेको थियो । हरेक छ÷छ महिना डाक्टरको फलोअपमा जाँदा जाँदा यस पटक दुःख र खुसीको दुई कुरा एकै पटक डाक्टरले सुनाएका थिए । पहिलो दुःखको कुरा उनले यसरी सुनाएका थिए, “तपाईंको किड्नीका ‘सिस्ट’ हरू धेरै ठुला भइसकेका छन् । किड्नीको साइज पनि ठुलो भएको छ । अब यो ‘फेल्योर’ को अन्तिम विन्दुमा छ ।” 

त्यसपछि हाँस्दै उनले सुनाएका थिए, “तर चिन्ता नगर्नुस्, साइन्सले फेरि एउटा चमत्कार गरेको छ । भर्खरै यस्तो औषधी आविष्कार गरेको छ; जसले किड्नीका ‘सिस्ट’ हरूलाई अरू बढ्न दिँदैन, ठुलो हुन दिँदैन । ढुक्क हुनुस् र यो औषधी खाएर फेरि छ महिनामा मलाई भेट्नुस्...।” 

पmेरि मेरो काँध थप्थपाएर मित्रवत् बोलेका थिए, “बधाई छ, अब तपाईंको किड्नी ‘फेल्योर’ को सम्भावना पूर्णतः ट¥यो ।” म दङ्ग परेको थिएँ । एकातिर किड्नी बिग्रिने सँघारमा पुगेको थियो र दुःखी थिएँ भने अर्कातिर अब यो औषधी सेवनले मेरो किड्नी कहिल्यै बिग्रिने छैन भन्दै दङ्ग परेको थिएँ, खुसी थिएँ, फुर्किएको थिएँ ।  

मेरो यो खुसीमा पहिलो झट्का औषधी पसलवालाले लगाइदिएको थियो ।  उसले आपूmसित यो औषधी नभएको बतायो । इन्टरनेटमा हेरेर फेरि भन्यो, “चार सय भारु पर्छ एउटा ट्याब्लेटको । इन्डियामा पाइन्छ, भन्नुहुन्छ भने मगाइदिऊँ ?” 

मेरो खुसीलाई ठुलो झट्का लागेको थियो । हच्किँदै, किंकर्तव्यविमूढ हुँदै बोलेको थिएँ, “पर्खिनुस्, पहिला घरसल्लाह गरौँ ।” पसलवालाले दयालु नजरले मलाई हेरेको थियो, यस्तो मलाई लाग्यो ।  

हो, यसपछि घरमा यसै विषयलाई लिएर घरसल्लाह होइन; घरझगडा सुरु भएको थियो । मेरो खुसी दुःखमा परिवर्तन भएको थियो । जब श्रीमती नै तयार भइनन् भने मेरो बाँच्नुको के अर्थ ? मनमा नानाथरी प्रश्नले झुत्ती खेल्न लागेका थिए ।  भर्खर जीवनको प्रारम्भमा पढाइ सकेर एक खुड्किलो अघि बढेका छोराछोरीलाई के भन्नु ? बाहिर बसेका छन् । नयाँ जागिर, कसरी भन्नु मलाई यस्तो भयो, यति देऊ...! मन भारी छ । नानाथरी कुरा खेलिरहेका छन् मनमा । एक्लै छु । साँझ पर्छ । रात पर्छ तर म ओछ्यानमै । उठ्दिनँ । उठ्न मन लाग्दैन । पकाएर खान सकिन्छ तर भनेँ नि, मन लाग्दैन ।  

एक पटक पहिले पनि छोराछोरीका निम्ति घर बेचौँ भन्दा उसले बबाल गरेकी थिई । उनीहरू दस जोड दुई पास गरेपछि विदेश जान चाहन्थे । म चाहन्थेँ, घर बेचेर पठाउन तर कमलाले मानिन । मानिन मात्रै होइन, रुवाबासी गरी ।  

“भएको सबै सिध्यायौ, अब यो घर पनि बेच्छौ ? म ज्यान गए यो घर बेच्न दिन्नँ ।” उसले घमासान गरेकी थिई, चिच्याएकी थिई ।  

त्यसपछि छोराछोरी दुवैले भनेका थिए, “हामी विदेश जाँदैनौँ ।” त्यतिबेला पनि उसले भनेकी थिई, “हेर्ने भगवान् छैनन् ? लेखेको रहेछ भने जसरी पनि विदेश जान्छन्...।” 

आज, झलझली श्रीमतीको अनुहार आँखामा नाचिरहेको छ– निष्ठुरी अनुहार ! कति निर्दयी हुन सकेको होला जस्तो लागिरहेको छ । छोराछोरीको उन्नति, प्रगतिमा त निर्दयी भई भई; अब यो ज्यानको प्रश्न खडा हुँदा पनि ऊ उत्तिकै निर्दयी...! मैले सम्झाउने लाख प्रयत्न गरेको थिएँ– छोराछोरीको पालामा पनि र अहिले मेरो इलाजका लागि पनि । मैले भनेको थिएँ, “यो घरजग्गा बेचेर घरबारविहीन हुने भनेको त होइन । यहाँको घर बेचेर अलिक टाढा जाने जहाँ सस्तोमा जग्गा पाइन्छ । अनि सस्तै खाले घर बनाउने । यसरी बचेको फरक रकमले हाम्रा समस्याहरू हल गर्ने ।”    

ऊ टसमस भइन । न पहिले छोराछोरीका लागि, न अहिले मेरा लागि । 

मनमा नानाभाँती तरङ्ग आउँछन् । छालहरू उर्लन्छन् । एक मनले त लाग्छ, झुन्डिऊँ । मेरो सबैभन्दा नजिकको प्राणलाई नै जब मेरो प्राणको पर्बाह छैन भने किन बाँच्नु, झुन्डिऊँ...। अर्को मनले सोच्छु, हुँदैन । आफैँले आफ्नो हत्या अपराध हो, यो गर्नु हुँदैन ।  

“त्यसो भए अर्को के गर्छस् त ?” मेरो अन्तर्मन मसित प्रश्न गर्छ ।  

“के गर्नु ? यो जुन घर श्रीमतीको प्राण हो, त्यसैलाई एकलौटी उसका निम्ति छाडेर जान्छु...!” म भन्छु ।  

ऊ भन्छ, “कायर...!” 

म भन्छु, “अरू उपाय छैन मसित । किड्नी फेल भएपछि छोराछोरीलाई कति टेन्सन हुन्छ, दुःख हुन्छ । बरु जान्छु कतै, यो दुनियाँ ठुलो छ, कुनै कुनामा...।” 

ऊ अर्थात् मेरो अन्तर्मन भन्छ, “श्रीमतीको किन फिव्रmी गर्छस्, तेरै नाममा त छ नि घर, सुटुक्क बेचिदे न ।” 

म भन्छु, “बेच्दिनँ । म सल्लाहले हुने काम मात्र गर्ने हो । यो घर मेरो नाममा भए पनि सबैको यसमा अधिकार छ । मेरो प्राण रक्षा गर्न असमर्थ घरको मेरो चाहिँ हक म छोड्छु भनेको...।” “अनि श्रीमती पनि छोड्छस् ?” ऊ भन्छ । म मन कडा पार्छु र बोल्छु, “उसले मलाई छोडेकी हो, मैले होइन ।” 

“कसरी ?” ऊ सोध्छ । 

“उसलाई घर चाहिएको छ, ‘म’ चाहिएको छैन । त्यसैले यो घर उसको नाममा गरिदिएर म हिँड्ने हो...।” 

“कहाँ जान्छस् ?” 

“यत्रो ठुलो संसारमा जहाँ जहाँ पुग्छु हिँड्छु, हिँडिरहन्छु ।” “त्यसपछि...?” “कसैले थाहै नपाई सुटुक्क मर्छु । यो संसारबाट बिदा हुन्छु ।” यसो भन्दै गर्दा आँखामा अनायास आँसु उम्रिन्छन् ।  

श्रीमतीलाई सम्झिन्नँ । प्यारा छोराछोरीका अनुहार आँखामा उत्रिन्छन् । 

घरमा कोही छैनन् । बड्बडाउँछु, “बाबु हो, मलाई नखोज्नु । म जहाँ रहेबसे पनि मेरो आशीर्वाद तिमीहरूको साथमा छ । धेरै उन्नति गर्नु । धेरै प्रगति गर्नु । आमालाई सुख दिनु...।” 

मेरो अन्तर्मन फेरि प्रकट हुन्छ, “यी, भनिस् त फेरि, आमालाई सुख दिनु... अरे ! के श्रीमतीको माया लागेको हो ?” म बोल्दिनँ । यति भन्छु, “जा, जा, म तँसँग बोल्दिनँ...।” 

अब भोलि सबेरै हिँड्छु । श्रीमती आउँदा म भेटिने छुइनँ ।  अँ, मालअड्डा पुगेर पहिले श्रीमतीको नाममा छाप कटाएर घरजग्गा उसको नाममा एकलौटी पारिदिन्छु । त्यसपछि लाग्छु...! यस्तै सोच्छु ।  र, छोराछोरीलाई सम्बोधन गर्दै पत्र लेख्न बस्छु, “प्यारा छोराछोरी, शुभाशीर्वाद ! मैले तिमीहरूलाई दिएको अंश भनेको शिक्षादीक्षा मात्र हो । तिमीहरूको बिहेदान गरिदिन सकिनँ । यसमा मलाई माफी देओ । अँ, आमालाई यो घरजग्गा सुम्पिदिएको छु । तिमीहरूले त्यसमा अंशभाग नखोज्नु । आफैँ कमाएर जसरी हुन्छ बिहे गर्नु । म जहाँ रहे बसे पनि खुसी रहने छु । मलाई नखोज्नु । तिमीहरूको सदा सुख शान्ति र खुसी चाहने तिम्रो बाबा...!” 

यसपछि अरू लेख्न सक्दिनँ । आँखामा आँसु उम्रिरहेका छन् । आँखाबाट आँसु खसिरहेका छन्...।