• ९ मंसिर २०८१, आइतबार

चामे गाउँपालिका अध्यक्षमा एमालेका घले निर्वाचित

blog

मनाङको चामे गाउँपालिका अध्यक्षमा निर्वाचित लोकेन्द्रबहादुर घले । तस्बिरः गाेरखापत्र

लमजुङ, बैशाख ३१ गते । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको अध्यक्षमा पुनः लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । यसअघि पनि गाउँपालिका अध्यक्ष रहनुभएका घले शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

४१ मतले काँग्रेसका प्रतिस्पर्धी छिरिङ ध्वर्जे लामालाई हराउदै उहाँ विजयी हुनुभएको हो । नेकपा (एमाले)का घलेले ३२० मत ल्याउनुभएको थियो भने काँग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसकी मिङमार ढोमा लामा निर्वाचित हुनुभएको छ । लामाले ३२५ मत ल्याउनुभएको थियो । उहाँको प्रतिद्वन्द्वी एमालेकी आशकुमारी गुरुङले २७४ मत ल्याउनुभएको छ ।  

गणना कार्य सम्पन्न भए पनि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाध्यक्षतर्फ वडा नम्बर ३ को अध्यक्षमा काँग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिद्वन्दी नेकपा एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याउनु भएको छ । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी एमालेका पाल्साङ लामाले ४० मत ल्याउनुभएको छ । 

चामे गाउँपालिका वडा नं. वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका कैले गुरुङ र काँग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०÷३० भोट ल्याउनुभएको छ । गोलाप्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ । 

वडा नं. १ मा यसअघि नै नेकपा एमालेका खड्कजङ गुरुङ र वडा नम्बर २ मा काँग्रेसका मङ्गलदेव गुरुङ निर्विरोध भइसकेका छन् । ७११ मतदाता रहेको चामे गाउँपालिकामा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।