• ३० फागुन २०८२, शनिबार

कसरी खर्च भइरहेछ समय

blog

समयलाई परिभाषित गर्न त्यति सजिलो छैन किनकि यो महसुस गर्ने विषय हो । भौतिक शास्त्रमा यो एउटा आयाम हो । न्युटनका अनुसार समय एब्सोलुट हुन्छ र सबै स्थानमा एकनाससँग प्रवाहित हुन्छ । आइन्स्टाइनले समय सापेक्षित भएकाले गति र गुरुत्व बलमा निर्भर हुन्छ भनेका छन् । स्टेफेन हकिन्सनका अनुसार स्पेस जस्तै समय पनि एउटा डाइमेन्सन हो, जहाँ घटनाहरूलाई क्रमबद्ध गरिन्छ । 

यसरी हेर्दा समय त दुई घटनाबिचको अवधि हो । यो आफैँमा निरन्तर छ र यसमा नियमितता छ । घटनाक्रमलाई बुझ्न र बुझाउनलाई मानिसले समयलाई भूत, वर्तमान र भविष्यमा बाडेँ । यसै गरी सेकेन्ड, मिनेट, घण्टा, दिन, वर्ष आदिमा समयलाई खण्डीकृत गरे । तसर्थ समय एउटा फ्रेम वा ढाँचा हो, जसलाई मानिसले परिवर्तन, कर्म र अस्तित्वसँग जोडेर हेर्ने र बुझ्ने गर्छन् ।

समय सीमित कि असीमित ? 

मानिस मरणशील भए पनि यस धर्तीमा जग्गा, जमिन जस्ता भौतिक पदार्थको निरन्तरता छ । यी त परिवर्तनशील पनि छन् तर समयको भने निरन्तरता छ । समय हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ । हिजोका मानिस आज छैनन्, भोलि अर्कै हुन्छन् । यसरी हेर्दा समय असीमित छ तर मानिसको आयु अर्थात् जीवन छोटो छ । 

हरेक मानिससँग समय सीमित छ तर बहुमूल्य छ । यसलाई कसरी प्रयोग गर्छ भन्ने विषयले व्यक्तिको जीवनमा अर्थ राख्छ । एक व्यक्तिको सरदर आयु ७०–७५ वर्ष मान्ने हो भने पनि सुरुका ८–१० वर्ष व्यक्तिलाई थाहा नभई समय बितेको हुन्छ । मानिसले बुझ्ने समय बढीमा ६०–६५ वर्षमात्र हो । यही ६०–६५ वर्षको समयलाई प्रयोग गर्ने कार्यले व्यक्तिगत, सामाजिक र पेसागत जीवनको लय र गति निर्धारण हुने हो । यसलाई जति छिटो मनन गर्न सक्यो, त्यति मात्रामा जीवन अर्थपूर्ण बन्न सक्छ । 

समयसम्बन्धी चेतना

हामी सबैलाइ बाँचुन्जेल हरेक दिन २४ घण्टा अर्थात् १४४० मिनेट उपलब्ध छ । के हामीले कहिल्यै सोचेका छौँ, यो अमूल्य समय कसरी बितिरहेको छ ? हाम्रो ऊर्जावान् समय उत्पादनमूलक कार्यमा लागेको छ कि व्यर्थै खेर गइरहेको छ होला ? यसको उत्तर खोज्न ‘समयको लेखाजोखा’ वा  गर्नु पर्छ ।

एक पटक आफ्नै समय बाँडफाँटलाई हेरौँ न । हाम्रा नित्यकर्मलाई लाग्ने समय आफैँमा ‘खर्च’ भन्दा पनि ‘लगानी’ नै हुन् । तर पनि यसमा कति समय लागेको छ भनेर थाहा पाउनु पर्छ नै । यसै गरी पत्रपत्रिका अध्ययन र सामाजिक सञ्जाल (फेसबुक, टिकटक आदि) चलाउँदा कति समय बितेको होला ? दिनभरिमा साथीभाइसँगको गफगाफ वा अनावश्यक कुराकानीमा कति घण्टा खर्च भइरहेको छ होला ? घरपरिवारका सदस्यसँगको कुराकानी, व्यक्तिगत अध्ययन वा मनोरञ्जनमा हामीले कति समय छुट्याएका छौँ ? हाम्रो स्वास्थ्यका लागि नभई नहुने ‘निद्रा’ का लागि कति समय खर्चिरहेका छौँ ? 

सक्रिय समयमध्ये वास्तवमै कति समय सदुपयोग भएको र कति समय अनुत्पादक कार्यमा खेर गइरहेको होला ? कतै हाम्रो समयको एउटा ठुलो हिस्सा हामीले पत्तै नपाई बालुवामा पानी खन्याए झैँ खेर गइरहेको त छैन ? जीवन भनेकै ससाना समय क्रममा घटित घटना र गतिविधिको योगफल त रहेछ । जबसम्म हामी २४ घण्टाको विस्तृत हिसाब निकाल्दैनौँ, तबसम्म हाम्रो समयको वास्तविक अवस्था खुल्दैन । समय वर्तमान भएकाले हरेकको जीवनमा यसले ठुलो महìव राख्छ ।

समय र वर्तमान 

मानिसका लागि समय भनेकै ‘वर्तमान’ हो र वर्तमान भनेको प्रत्येक ‘क्षण’ हो । हामीले हरेक क्षणमा केही न केही अर्थपूर्ण कार्य गर्न सक्यौँ भने मात्र समयको सही सदुपयोग हुन्छ । बितेको समय त हाम्रो हातबाट फुत्किसक्यो, जसको स्मृति वा सम्झना मात्र बाँकी रहन्छ; त्यसलाई हामी पुनः प्रयोग गर्न सक्दैनौँ । त्यस्तै भविष्य भनेको आउन बाँकी समय हो, जसको बारेमा हामी केवल कल्पना वा योजना मात्र बुन्न सक्छौँ तर त्यहाँ पुगेर अहिल्यै काम गर्न सक्दैनौँ । कर्म गर्ने वास्तविक अवसर भनेकै ‘वर्तमान’ हो । तसर्थ मानिसका लागि वर्तमान नै समय हो ।

समयको सदुपयोग 

हामीले वर्तमानमा के गरिरहेका छौँ त ? कहिले एउटै बैठकमा घण्टौँ अलमलिइरहेका हुन्छौँ, त कहिले सामाजिक सञ्जालको भुलभुलैयामा अनमोल समय खर्चिरहेका हुन्छौँ । त्यति मात्र होइन, कतिपय अनावश्यक कुराकानी र गफगाफमा धेरै समय गइसकेको हुन सक्छ । प्रश्न उठन सक्छ, के मानिस घडीको सुई जस्तै चौबिसै घण्टा मेसिन जस्तै गरी चल्न सक्छ त ? मानिसले यसो गर्न पक्कै सक्दैन र यस्तो गर्न पनि हुँदैन । 

समयको सदुपयोग भन्नुको अर्थ २४ सै घण्टा काममा मात्र जोतिनु होइन । जीवनको एउटा सर्वमान्य सिद्धान्त अनुसार पनि २४ घण्टामध्ये ८ घण्टा काम (आफ्नो पेसा वा उत्पादनमूलक कार्यका लागि), ८ घण्टा आराम (शरीर र मस्तिष्कलाई पुनर्ताजगी दिनका लागि आराम र निद्रा) अनि बाँकी ८ घण्टा सामाजिक र व्यक्तिगत पक्ष (परिवार, साथीभाइ, समुदाय, मनोरञ्जन एवं व्यक्तिगत रुचिका काम) मा ध्यान चाहिन्छ । 

एकै पटक धेरै काम गर्ने हाम्रो ‘मल्टिटास्किङ’ स्वभाव वास्तवमा वैयक्तिक र सामाजिक स्वास्थ्यका लागि लाभदायक छैन । यस्तो बानीले कार्यसम्पादनमा सुधार ल्याउनुको सट्टा झन् ह्रास ल्याउँछ । काममा एकाग्रता पनि ल्याउँदैन् । समय सदुपयोगका लागि हामीमा एकाग्रता (काम गर्दा सम्पूर्ण ध्यान सोही कार्यमा केन्द्रित गर्ने) चाहिन्छ । वैयक्तिक स्वास्थ्यका लागि नियमित पैदल यात्रा (हिँडडुल), परिवारसँगको सार्थक संवाद र पुस्तक अध्ययन एवं स्तरीय संवाद र बौद्धिक गतिविधि समयकै सही सदुपयोगभित्र पर्छन् ।

समय व्यवस्थापनको दौडमा हामीले अक्सर ‘आफ्नै लागि’ समय निकाल्न बिर्सिरहेका हुन्छौँ । ‘कामको चापमै दिन बित्छ’ भन्ने बहानामा हामी आफ्नै व्यक्तिगत, सामाजिक र पेसागत विकासलाई ओझेलमा पारिरहेका हुन्छौँ । वास्तविक प्रगति तब मात्र सम्भव छ, जब हामी आफ्नै लागि समय निकाल्छौँ, आफ्ना गतिविधिको पुनरवलोकन गर्छौं र आफ्ना कमीकमजोरीको निर्मम समीक्षा गर्दै सुधारको बाटो रोज्छौँ । 

माथिका सबै कार्य ‘वर्तमान’ को क्षणमै गरिने साधना हुन् । तसर्थ हामीले आफूलाई ‘आफ्नै आँखा’ बाट हेर्न सिक्नु पर्छ । अरूको प्रशंसा वा आलोचनामा मात्र आधारित भएर गरिएको आत्म मूल्याङ्कन सधैँ अधुरो र अपूर्ण हुन्छ । त्यसैले आफ्नो बारेमा गरिने समीक्षालाई ‘लेखेर’ अभिलेख राख्न सके, त्यसले जीवनलाई अझ प्रस्ट र अनुशासित दिशा प्रदान गर्छ ।

वर्तमानमा रहनु भनेको आफू वरपर घटित भइरहेका साना कार्यको सूक्ष्म अवलोकन गर्नु हो, तिनलाई साक्षी भावले हेर्न सक्ने बन्नु हो । कमी कमजोरी भएका स्थानमा तत्काल सुधार गर्न लाग्नु हो । मार्क ट्वेनले कुनै सन्दर्भमा अगाडि जानका लागि गोप्य सूत्र भनेकै कामको सुरुवात गर्नु हो भने । केही काम गर्छु भनेर सोचिरहनुभन्दा केही काम गर्न सुरु गर्नु महìवपूर्ण हुन्छ । उदाहरणका लागि दिनको एक पेज मात्र अध्ययन वा पढ्न सके एक महिनामा ३० पेज हुन्छ भने वर्षमा ३६५ पेज हुन्छ । त्यस्तै आधा पेज मात्र लेख्न सके वर्षभरिमा १८२ पेज तयार हुन्छ । त्यस्तै दिनमा ५०० स्टेप हिँड्न सके वर्ष दिनमा कति होला ? 

यस्ता सानासाना आदतमा ध्यान दिएर वर्तमानमा सुधार गर्दै जाने हो भने समयको सदुपयोग मात्र हुने नभई आदत वा बानीमा पनि सुधार आउने गर्छ । निरन्तरताले आदत वा बानी निर्माणका साथै अनुशासित पनि बनाउँछ । समय पालनप्रतिको यही जागरुक र सचेतना नै समयको सदुपयोग हो । 

समयको सदुपयोग कसरी गर्ने त ? 

सर्वप्रथम त अहिले समय खर्च भइरहेको छ भनेर समय अडिट गर्नु पर्छ । डायरी राख्ने कार्यले समय अडिटलाई सजिलो बनाउँछ । जब समय के कस्ता कार्यमा खर्च भइरहेको छ भन्ने पत्ता लाग्छ, अनि समय बचत गर्न सकिने क्षेत्र वा कार्य पहिचान गर्न सकिन्छ । बचत गरिएको समय अर्को राम्रो काममा लगाएपछि सुधार सुरु हुन्छ । 

गीतामा श्रीकृष्णले अर्जुनलाई सदैव जागा रहने भन्नुभएको छ । बुद्धले होसमा बस भन्ने गर्नुहुन्थ्यो । समय पालनाको सन्दर्भमा व्यक्ति त्यस्तै ढङ्गबाट होसमा रहनु पर्छ वा जागा रहनु पर्छ । होसमा रहन सके बहकिएको मनलाई तत्काल फर्काउन सकिन्छ । नकारात्मक कुरा मात्र गर्ने समूहमा पुगे जति सक्यो छिटो त्यहाँबाट बाहिर निस्कनु पर्छ भनिन्छ । बाटो बिराएको अवस्थाका बारेमा तत्काल थाहा पाउनु जागा रहनुको अवस्था हो ।

समय पालनामा सबैभन्दा महत्वपूर्ण अर्को पक्ष भनेको नियमितता र अनुशासनको पालना हो । मानिसले राम्रा बानी र कामलाई निरन्तरता दिनु पर्छ । अनुशासित भई सोको पालना गर्नु पर्छ । यही नियमितता र अनुशासन पालना नै समयको महìवप्रतिको संवेदनशीलता हो ।

समय आफैँमा राम्रो नराम्रो भन्ने हुँदैन, यसको लय एकनासको छ, परिवर्तनशील छ । मानिसको हरेक क्षण नयाँ रूपमा वर्तमान हुँदै भूतकाल बनिरहेको हुन्छ । त्यही हरेक क्षणलाई बुझेर काम गर्नुपर्ने रहेछ । दुःखमा परेको र खुसी भएको व्यक्तिलाई समान समय पनि फरक लाग्न सक्छ । समयसँग जोडिएका पात्रको बुझाइ, अनुभव र हरेक पल घटित घटनाका आधारमा राम्रो समय र खराब समय हुने हो । यससँग जोडिएका घटनाले मात्र समयलाई रङ दिने हुन् । तर समय आफैँमा त्यस्तो हुँदैन, यसमा निरन्तरता छ । निरन्तर रूपमा बगिरहेको छ । यसलाई समात्न सक्नु पर्नेरहेछ ।