काठमाडौँ, फागुन ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको बताउनुभयो । उहाँले जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो । विश्वभर भइरहेका द्वन्द्व र कोभिड–१९ जस्ता महामारीको उदाहरण दिँदै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने उल्लेख गर्नुभयो ।
विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग महासङ्घले सहकार्य गरेर एउटा आयोजना अगाडि बढाइसकेको जानकारी दिँदै उहाँले संस्थागत लगानीमा जोड दिनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, “अहिलेको विश्व परिवेश हेर्दा, चाहे मध्यपूर्वको द्वन्द्व होस् या कोभिडको समय, अन्तिममा फर्किने ठाउँ भनेको आफ्नै जन्मभूमि हो । म आफैँ एक उद्यमी र निजी क्षेत्रको छाता सङ्गठनको अध्यक्षको हैसियतले भन्छु- नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति सम्भावना र अवसर यहाँ छ, सायदै अन्यत्र कतै होला ।”
मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको उहाँको भनाइ छ । महासङ्घकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भित्र्याउन थुप्रै कानुनहरू परिमार्जन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा पुँजी र सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न महासङ्घ, सीएनआई, चेम्बर र एनआरएन लगायतको सहभागितामा १० अर्ब रुपियाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ कम्पनी स्थापना गरी काम सुरु भइसकेको उहाँले बताउनुभयो । एनआरएनहरूसँग कुनै नयाँ ‘इनोभेसन’ वा आयोजना भएमा त्यसमा एनडीपी कम्पनीले ‘इक्विटी’ का रूपमा लगानी गरिदिने घोषणासमेत उहाँले गर्नुभयो ।