• १५ वैशाख २०८१, शनिबार

एक हजार ५८५ थान लागु औषधसहित गुरुङ पक्राउ

blog

लागु औषधसहित पक्राउ परेका मर्स्याङ्दी गाउँपालिका वडा नं. ७, नयाँ गाउँ घर भई हाल बेंसीसहर नगरपालिका वडा नं. ७ बस्ने २२ वर्षीय नितेश गुरुङ । तस्बिर: बेलिना थापा

लमजुङ, भदौ २८ गते । लमजुङ प्रहरीले लमजुङ प्रवेश नाका सुन्दर बजार नगरपालिका वडा नं. ७ पाउँदीबाट एक जना युवकलाई लागु औषधसहित पक्राउ गरेको छ ।

लमजुङकै मर्स्याङ्दी गाउँपालिका वडा नं. ७, नयाँ गाउँ घर भई हाल बेंसीसहर नगरपालिका वडा नं. ७ बस्ने २२ वर्षीय नितेश गुरुङ भन्ने ओमप्रकाश गुरुङलाई लागु औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका युवकको साथबाट एक हजार ५ सय थान ट्रामाडोल ट्याब्लेट र ८५ थान नाइट्राभ्याट ट्याब्लेट बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद गरिएका लागु औषध सोमबार प्रहरी कार्यालयमा एक कार्यक्रमबिच सार्वजनिक गरेको छ । प्रहरीले ती युवकको साथबाट एउटा मोबाइल समेत बरामद गरेको छ ।

काठमाडौँबाट बेंसीसहरतर्फ आउँदै गरेको यात्रुवाहक हाइस माइक्रोमा आइतबार राति १० बजेको समयमा ती युवकसहित लागु औषध पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सनाले बताउनुभयो । चाडबाडको समयमा सुरक्षा व्यवस्थापन मजबुत बनाउँदै लाने क्रममा साँझपख भित्रने सवारी साधनलाई बढी मात्रामा चेकजाँच गर्ने गरिएको र सोही क्रममा ती युवक लागु औषधसहित फेला परेको प्रहरी निरीक्षक तिमिल्सनाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले लागु औषधसहित पक्राउ परेका गुरुङलाई लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको बताउनुभयो । लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को उपदफा १ (झ) बमोजिम लागू पदार्थ कारोबारीलाई २ वर्षदेखि १० वर्षसम्म र १ लाख रुपियाँदेखि २० लाख रुपैयाँसम्म कारबाही हुने प्रहरीले जनाएको छ । पक्राउ परेका युवक कारोबारी र प्रयोगकर्ता दुवै रहेको खुलेको प्रहरीले बताएको छ ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।