ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २४ गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा प्रहरी चौकीको सुविधासम्पन्न नयाँ भवन निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको साढे तीन करोड रुपियाँ लागतमा दुई रोपनी क्षेत्रफलमा सिङ्गा तातोपानी प्रहरी चौकीको नयाँ भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि कुल लागत अनुमान तीन करोड ५१ लाख ७३ हजार एक सय ५९ रुपियाँ रहेकोमा तीन करोड ५१ लाख ७२९ रुपियाँमा दिव्यज्योति निर्माण सेवा सँग २०८१ असारमा ठेक्का सम्झौता गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रताप महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठेक्का सम्झौता लगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यावसायीले समयमै भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट बजेट प्राप्त भएको बजेट गण्डकी प्रदेश प्रहरी कार्यालयले कार्यान्वयन गरी प्रहरी चौकका लागि आवश्यक पर्ने आधुनिक भवन निर्माण गरेका हौँ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । चाँडै नै भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।’’
भाडाको घरबाट प्रहरीचौकी सञ्चालन गरिएको थियो । दुई तल्ला रहेको प्रहरी चौकीको भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, शौचालयसहितको आधुनिक भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
भवन निर्माण भएपछि प्राकृतिक चिकित्सालयका रूपमा परिचित सिङ्गा तातोपानी क्षेत्रमा शान्ति सुरक्षाका साथै नागरिमैत्री सेवा प्रवाह सहज हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सूर्यबहादुर थापाले बताउनुभयो ।
भवन नभएका अन्य प्रहरी चौकीका लागि पनि आवश्यक पहल भएको उहाँले बताउनुभयो । जिल्लामा राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।
इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी एकाइको आफ्नै भवन छैनन् ।
सामुदायिक भवन र भाडाको घरबाट ती चौकीहरू सञ्चालन भएका छन् । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख थापाले बताउनुभयो ।
जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।