• २४ चैत २०८२, मङ्गलबार

सेयर बजार : भ्रम र यथार्थ

blog

अर्थशास्त्रमा एउटा प्रसिद्ध र व्यङ्ग्यात्मक ठट्टा छ– एक जना अर्थशास्त्री र उनका मित्र सडकमा हिँड्दै गर्दा भुइँमा हजार रुपियाँको नोट देख्छन् । मित्रले त्यो नोट टिप्न खोज्दा अर्थशास्त्रीले रोक्दै भन्छन्, “नटिप, त्यो नक्कली हो । यदि त्यो सक्कली हुन्थ्यो भने अहिलेसम्म कसैले टिपिसक्थ्यो ।’’ यो ठट्टाले आधुनिक वित्तशास्त्रको एक खम्बा मानिने ‘कुशल बजारको परिकल्पना सिद्धान्त’ (‘इफिसियन्ट मार्केट हाइपोथेसिस इएमएच’) लाई सटिक रूपमा चित्रण गर्छ, जहाँ बजारमा उपलब्ध सबै सूचनाहरू स्टकको मूल्यमा पहिले नै प्रतिविम्बित भइसकेका हुन्छन् र कसैले पनि बजारलाई झुक्याएर अस्वाभाविक नाफा कमाउन सक्दैन भन्ने दाबी गर्छ । 

विकसित विश्वमा उल्लिखित दृष्टान्त अनुरूप पुँजी बजार वास्तवमै कुशल बजारको सिद्धान्तमा चल्छ र चल्नु पर्छ भन्ने पहिलो मान्यता हो । कुशल बजारका लागि सूचनाको सबैभन्दा बढी महत्व हुन्छ र त्यो सूचना सबै लगानीकर्तामा समान रूपले पुग्नु पर्छ भन्ने मान्यता रहन्छ । ‘इन्फरमेसन एसिमेट्री’ अर्थात् सूचनाको प्रवाह र परिधि समान ढङ्गबाट हुनु पर्छ भन्ने अर्को मान्यता हो । पुँजी बजारको स्वस्थ प्रतिस्पर्धाका लागि यो सूचना प्रवाहको सिद्धान्त नागरिकमैत्री र प्रजातान्त्रिक मान्यता हो तर के नेपालको पुँजी बजारमा यसरी सूचनाको प्रवाह भएर बजार चलेको छ त ?

यस्ता विश्वव्यापी सिद्धान्तले सेयरबजारलाई एउटा व्यवस्थित अर्थतन्त्रको अनुहारको रूपमा प्रतिविम्बित गर्छ । वास्तवमा सेयरबजारलाई ‘जुवाघर’ को रूपमा बुझ्नु एउटा गम्भीर वित्तीय भ्रम हो; यथार्थमा सेयर बजार एक “तार्किक जोखिम र सम्भावित प्रतिफल’’ बिचको वैज्ञानिक सन्तुलन हो । जुवामा जित र हार पूर्णतया भाग्य मा निर्भर हुन्छ, जहाँ गणितीय सम्भाव्यताको सत्य सधैँ खेलाडीको विरुद्धमा हुन्छ । पुँजी बजारमा लगानीकर्ताले कम्पनीको व्यावसायिक स्वास्थ्य, व्यवस्थापकीय दक्षता र अर्थतन्त्रको दिशालाई विश्लेषण गरेर ‘क्याल्कुलेटेड जोखिम’ लिन्छन् । यसबाट निश्चित समयमा निश्चित प्रतिफल प्राप्त गर्छन् ।

अर्थशास्त्रको सर्वमान्य सिद्धान्त अनुसार लगानीकर्ताले जति उच्च जोखिम वहन गर्ने साहस र सामथ्र्य राख्छन्, बजारले उनीहरूलाई त्यति नै आकर्षक प्रतिफलद्वारा पुरस्कृत गर्छ । यहाँ स्टकको बिटा अर्थात् ‘भोलाट्यालिटी’ अध्ययन गरिन्छ । नेपाली लगानीकर्ता प्रायः हाई बिटा भएका सेयरमा आकर्षित हुन्छन्, जहाँ मूल्य छिटो बढ्छ तर उनीहरूले के बिर्सिन्छन् भने बजार ओरालो लाग्दा तिनै हाई बिटा सेयरहरू सबैभन्दा पहिले र सबैभन्दा धेरै दरमा खस्छन् । जोखिमको यही वैज्ञानिक मापनलाई नबुझी लगानी गर्दा नै धेरैले पुँजी बजारलाई जुवाघरको संज्ञा दिने गरेका छन् । त्यसैले बिनाअध्ययन र केवल हल्लाको भरमा हाम फाल्नु ‘जुवा’ हुन सक्छ तर तथ्याङ्क र धैर्यमा आधारित लगानी देशको उत्पादनशील अर्थतन्त्रमा हिस्सेदार बनेर आफ्नो पुँजी वृद्धि गर्ने एउटा मर्यादित र अनुशासित मार्ग बन्छ ।

नेपालको पुँजी बजारमाथि प्राज्ञिक र व्यवस्थित अध्ययन हुन सकेको छैन, जसले गर्दा बजारका धेरै पक्ष केवल अनुमान र सतही विश्लेषणमा सीमित छन् । लगानीकर्ता पनि पूर्ण सूचना र विश्लेषणमा आधारित नभएर सामान्य हल्लाका आधारमा दौडने वा ‘ट्रेन्ड’ समात्न उद्यत हुने देखिएको छ । नेप्सेको कारोबार शैली र सूचना प्रवाहको प्रकृतिलाई हेर्दा केही यस्ता ‘ओपन सेक्रेट’ (खुला रहस्य) तथ्य छन्, जसलाई कुनै औपचारिक अनुसन्धानले प्रमाणित नगरे पनि आमलगानीकर्ताले दैनिक रूपमा भोगिरहेका हुन्छन् । उदाहरणका लागि कुनै पनि सूचीकृत कम्पनीको लाभांश वा मर्जर जस्ता संवेदनशील निर्णय आधिकारिक रूपमा सार्वजनिक हुनुपूर्व नै सेयरको मूल्य र कारोबारको आयतनमा देखिने अस्वाभाविक बढोत्तरीले ‘इनसाइडर ट्रेडिङ’ को बलियो उपस्थितिलाई सङ्केत गर्छ । यसलाई कतिपय साना लगानीकर्ताले बुझेकै छैनन् । 

कम चुक्ता पुँजी भएका कम्पनीको सेयर ‘कर्नर’ गरेर मूल्य अकासिनु र हल्लाको भरमा सर्वसाधारणलाई आकर्षित गर्नु पनि नेपाल जस्ता साना र परिपक्व हुन नसकेका पुँजी बजारका यथार्थ हुन् । यी तथ्यलाई कानुनी रूपमा प्रमाणित गर्न कठिन भए पनि बजारको उतारचडाव र ‘ट्रेन्ड’ ले एक सार्वजनिक सत्यको रूपमा स्थापित गरिदिएको हुन्छ, जुन अर्थशास्त्र वा लगानीशास्त्र पढेको सामान्य मानिसले सहजै बुझ्न सक्छ ।

नेपालको पुँजी बजारको इतिहासमा लगानीकर्ताले आफ्ना माग सम्बोधनका लागि सडकमै उत्रिएर आमरण अनसन र आन्दोलन गरेका घटना छन् । विशेष गरी नीतिगत अस्थिरता, मार्जिन लेन्डिङमा लगाइएका सीमा र बजारमा हुने अस्वाभाविक चलखेल रोक्न लगानीकर्ताले पटक–पटक सरकार र नियामक निकायलाई झकझक्याउँदै आएका छन् । यस्ता आन्दोलन केवल नीतिगत सुधारका लागि मात्र गरिएको देखिँदैन; यसको पछाडि कैयौँ लगानीकर्ताको गुमेको घरबार र विक्षिप्त मानसिक अवस्थाको कारुणिक कथा लुकेको देखिन्छ । 

बजारमा अस्वाभाविक उतारचढावका कारण सर्वस्व गुमाउँदा केही लगानीकर्ताले त चरम निराशामा पुगेर आत्महत्यासमेत गरेका हृदयविदारक उदाहरण पनि छन् । यी घटनाले स्पष्ट पार्छन् कि पुँजी बजारको नियमन लगानी व्यवस्थापनका लागि गरिएको केवल प्राविधिक विषय मात्र होइन, बरु यो मानिसको जीविकोपार्जन र बाँच्न पाउने अधिकारसँग जोडिएको एक गम्भीर मानवीय सवाल पनि हो ।

पुँजी बजारका बहुसङ्ख्यक लगानीकर्ता आधुनिक वित्तीय सिद्धान्त, विशेष गरी ‘कुशल बजारको परिकल्पना’ को आधारभूत ज्ञानबाट विमुख देखिन्छन् । धेरैका लागि सेयर बजार केवल ‘सस्तोमा किन्ने र महँगोमा बेच्ने’ एउटा सरल खेल मात्र हो, जहाँ लगानी निर्णयको आधार कम्पनीको वित्तीय प्रतिवेदन वा बजार कुशलताभन्दा पनि सामाजिक सञ्जालका हल्ला र अपुष्ट सूचना बन्ने गरेका छन् । इएमएचले सूचनाको समान वितरण र मूल्यमा त्यसको तत्कालै प्रतिविम्ब हुनुपर्ने कुरामा जोड दिन्छ तर कमजोर अर्थतन्त्र र वित्तीय साक्षरता नभएका लगानीकर्तामा यो चेतनाको अभाव हुँदा उनीहरू 

‘इनसाइडर’ हरूले बुनेको जालमा सजिलै फस्ने गरेका छन् । जबसम्म आमलगानीकर्ताले बजारको अकुशलतालाई चिन्न र जोखिमको वैज्ञानिक व्यवस्थापन गर्न सिक्दैनन्, तबसम्म उनीहरूको लगानी तार्किक हुनुको साटो केवल अनुमान र भाग्यको भरोसामा अल्झिरहने निश्चित छ ।

आधुनिक वित्तशास्त्रको कसीमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वर्तमान अवस्थालाई सूक्ष्म रूपले केलाउने हो भने, यसले ‘कुशल बजार’ को सबैभन्दा प्रारम्भिक चरण मानिने ‘विक फर्म अफ इफिसियन्सी’ (कमजोर तहको कुशलता) को मापदण्डको वरिपरि घुमिरहेको देखिन्छ । सिद्धान्ततः ‘विक फर्म’ कुशलता बजारमा विगतका मूल्य र कारोबारका तथ्याङ्कबाट वर्तमान बजार मूल्य निर्धारित भएका हुन्छन् । उदाहरणका लागि हामी अरू अध्ययन नगरी ५२ हप्ताको उच्च र न्यून मूल्यको औसत मात्र हेरेर लगानीको निर्णय गरिरहेका हुन्छौँ तर यथार्थमा केवल यति पक्षको विश्लेषणका आधारमा कसैले पनि अस्वाभाविक नाफा कमाउन सक्दैन भन्ने मानिन्छ र त्यस कम्पनीले सधैँ एकैनासको लाभांश निरन्तरता दिन सक्छ भन्ने पनि हुँदैन ।

नेपाली बजारको यथार्थ निकै फरक र उल्टो छ । यहाँ सूचनाको प्रवाह ‘लोकतान्त्रिक’ हुनुको साटो ‘पहुँच’ मा आधारित छ भनिन्छ । कुनै पनि कम्पनीको लाभांश वा महत्वपूर्ण निर्णय नियामकको आधिकारिक सूचनामा आउनुपूर्व नै भित्री सूचनाका आधारमा सेयरको मूल्य र कारोबारको आयतनमा देखिने अस्वाभाविक चलखेलले यो सिद्धान्तलाई नै गिज्याइरहेको भान हुन्छ । जबसम्म नियामक निकायले ‘रियल–टाइम’ सूचना प्रवाहको ग्यारेन्टी गर्दैन र ‘इनसाइडर’ हरूले सूचना चुहाएर बजारलाई ‘म्यानुपुलेट’ गरिरहन्छन्, तबसम्म हाम्रो पुँजी बजार ‘सेमी–स्ट्रोङ्ग’ वा ‘स्ट्रोङ्ग’ किसिमले फड्को मार्न सक्दैन । यथार्थमा आधारभूत ‘विक फर्म’ को कुशलतामा पनि एउटा अपारदर्शी र कमजोर खेलमैदानकै रूपमा खुम्चिरहने बाध्यता रहन सक्छ ।

नेपालमा भित्री कारोबार रोक्न धितोपत्रसम्बन्धी ऐन, २०६३ (परिच्छेद ९) जस्ता कानुनी व्यवस्था गरिएका छन् । यी प्रावधानले सूचनाको दुरुपयोग गर्नेलाई दण्ड सजायको व्यवस्था त गरेका छन् तर व्यवहारमा यी कानुन खासै प्रभावकारी प्रयोग हुन सकेका छैनन् । सूचना सार्वजनिक हुनुअघि नै बजारमा देखिने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न नियामक निकायले प्रभावकारी ढङ्गबाट अघि बढ्न आवश्यक देखिन्छ ।

पछिल्लो समय स्टकचार्ट अवलोकन गर्दा लगानीकर्तामा एउटा गम्भीर ‘प्यानिक’ को अवस्था सिर्जना भएको जस्तो देखिन्छ । यसको एउटा मुख्य कारण नेपाली बजारमा व्याप्त ‘फियर अफ मिसिङ आउट’ (फोमो) को प्रवृत्ति हो । जब बजार बढ्न थाल्छ, कतिपय लगानीकर्ता ‘कतै म पछि पर्ने त होइन ?’ भन्ने डरले बिना कुनै अध्ययन उच्च मूल्यमा सेयर किन्न पुग्छन् तर जब बजारमा केही गिरावट आउँछ, तिनै लगानीकर्ता सबैभन्दा पहिले आत्तिएर सेयर बेच्न हतारिन्छन्, जसले बजारको आत्मविश्वासलाई निकै कमजोर बनाउँछ । 

लगानीकर्ताहरू यसरी आत्तिनु भनेको केवल सेयरको मूल्य उतार चढाव हुनु मात्र होइन, यसले समग्र वित्तीय प्रणाली नै सङ्कटमा पर्न सक्ने जोखिम निम्त्याउँछ । यद्यपि, सरकारले पछिल्लो समयमा चालेका कदमले पुँजी बजारमा पारेको प्रत्यक्ष असरलाई केवल नियन्त्रणको रूपमा मात्र नहेरी, फोमोको लहरमा बगेका लगानीकर्तालाई ‘कुशल बजार’ को सही सिद्धान्त र सुशासनको मार्गमा फर्काउने एउटा कठोर तर आवश्यक ‘सर्जरी’ को रूपमा बुझ्नु पर्छ । 

यतिबेला लगानीकर्ताले धैर्य गर्नुपर्ने अवस्था देखिन्छ । यदि राज्यले नियामक निकायको कमजोरी हटाई पुनर्संरचना गर्ने, आवश्यक कानुनको परिमार्जन/निर्माण र परिपालना गराउने, यस क्षेत्रमा लगानी शुद्धीकरणका अस्त्र प्रयोग गर्ने कार्यमा निर्मम ढङ्गबाट अघि बढेमा नेपालको पुँजी बजारले सही आकार र वास्तविक अवस्था ग्रहण गर्ने छ । यसका साथै सूचनाको पारदर्शिता सुनिश्चित गर्ने, पुँजी/वित्तीय साक्षरता प्रवर्धन गर्ने र संलग्न सबै ‘इनसाइडर’ हरूलाई पुँजी साक्षरताको दायरामा ल्याउने दृढता देखाउने हो भने, अहिलेको यो अन्योल चिर्दै भोलिका दिनमा नेपाली पुँजी बजार अझ परिपक्व, विश्वसनीय र वास्तविक अर्थमा ‘कुशल’ बन्ने आशा गर्न सकिन्छ ।