• २४ चैत २०८२, मङ्गलबार

मोटरसाइकल दुर्घटनाको थप विवरण: मृतक र घाइतेको विवरणसहित

blog

मोटरसाइकल जुधेर ट्याकी विस्फोट भई आगलागी भएपछिको दुर्घटनास्थल । तस्बिर :महेशकुमार दास

नागेन्द्रकुमार कर्ण/महेशकुमार दास

महोत्तरी, चैत २४ गते ।महोत्तरी जिल्लाको जलेश्‍वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार दुई मोटरसाइकल जुधेर भएको आगलागीमा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

तीन जना घाइते मध्ये एक जनाको अवस्था सिकिस्त रहेको छ । एसईई परीक्षा दिएर घर फर्किरहेको बेला बखरी बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका वडानं. ५ को गेना बथनाहामा मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना हुदाँ टयाङ्की विष्फोट भई एक्कासी आगलागी हुदाँ आगलागीमा परेर तिन विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार मृत्यु हुनेमा महोत्तरी जलेश्वर न.पा.६ का रामदयाल दासको छोरा अन्दाजी बर्ष २० को रबि दास, सोही ठाउँ बस्ने सुरेन्द्र दासको छोरा अन्दाजी वर्ष २० का सुभास दास र जिल्लाको एकडारा गाउँपालिका वडानं.३ मा  शत्रुधन मण्डलको छोरा अभिषेक मण्डल रहेका छन् ।

त्यसैगरी, घाइते हुनेमा जलेश्वर न.पा.६ धबौली बस्ने सुरेश दासको छोरा अन्दाजी वर्ष १९ को रोहित दास, सोही ठाउँ बस्ने लखिन्द्र कापरको छोरा अन्दाजी वर्ष ९ को अभय कापर र एकडारा गाउँपालिका वडानं. ५ गेना बथनाहा बस्ने रामवरण कापरका छोरा अन्दाजी वर्ष २० को अजय कापर रहेको छ ।

एसईईको परीक्षा सकेर घर फर्किरहेको बेला एक्कासी मोटरसाइकल  दुर्घटना हुन गएको र दुर्घटनामा ट्याकी विस्फोट हुँदा दुवै मोटरसाइकलमा आगलागी भएको थियो भने एउटा मोटरसाइकलमा सवार तीनै जना विद्यार्थी आगोमा परेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनाको सूचना पाए लगत्तै प्रहरी सहित वारुणयन्त्र, एम्बुलेन्स पुगेर घाइते तथा जलेका शवलाई  प्रादेशिक अस्पताल जलेश्‍वर पुर्‍याएको थियो ।”

प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकले तीन जना घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारको लागि जनकपुर रेफर गरेका थिए ।

घटनाको सूचना पाएर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका टोली घटनास्थलमा पुग्नुका साथसाथै प्रादेशिक अस्पताल जलेश्वरमा आएर घाइतेबारे जानकारी लिनुभएको थियो ।

प्रजिअ यादवले घाइते भएका तीन जना मध्ये एक जनाको अवस्था  गम्भिर रहेको जानकारी दिनुहुँदै दुई जनाको उपचार जनकपुरस्थित रामजानकी अस्पतालमा तथा एक जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान/प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको बताउनुभयो ।

मृत्यु भएका तीनै जनाको शव नचिनेने अवस्थामा रहेकोले पहिचानमा समय लागेको उहाँको भनाइ छ ।प्रहरी उपरीक्षक शर्माले विद्यार्थीका परिवारका मान्छेहरू आएर शवको पहिचान गरेपछि मात्रै पहिचान खुलेको बताउनुहुँदै पोस्टमार्टमपश्चात शव परिवारको जिम्मामा लगाउने बताउनुभयो एसईई सकेर घर फर्किरहेको दुईवटै मोटरसाइकलमा तीन, तीन जना सवार थियो ।

दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक शर्माले दुवै मोटरसाइकल पूर्णरूपमा जलेको कारणले नम्बर खुल्न नसकेको बताउनुभयो ।

स्थानीयवासीले मोटरसाइकल जुधेर आगलागी भई यसरी मृत्यु भएको घटना डरलाग्दो रहेको प्रतिक्रिया दिएका छन् ।

प्रादेशिक अस्पताल जलेश्वरमा भेटिनुभएका स्थानीय राजन मण्डलले प्लेन दुर्घटनामा परेर यसरी जलेर मृत्यु भएको घटना धेरै देखेको भए पनि मोटरसाइकल आगलागी भई विभत्स रूपमा जलेको घटना पहिलोपल्ट देखेको बताउनुहुँदै घटना डरलाग्दो रहेको बताउनुभयो ।

अभिभावकलाई जिम्मेवार हुन आग्रह

जिल्लाको जलेश्‍वर र एकडारामा भएको डरलाग्दो मोटरसाइकल दुर्घटनाको घटना हेरेर यसक्षेत्रका बासिन्दाले अभिभावकलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

स्थानीय युवा सञ्जीत पाठकले मोटरसाइकलमा आगलागी भई जलेको घटना एकदमै हृदयविदारक र दुःखद घटना भएको बताउनुहुँदै अभिभावकहरूलाई जिम्मेवार हुन र कलिला बालबालिकाहरूको हातमा मोटरसाइकल र मोबाइल जस्ता उपकरणहरू दिन कडाई गर्नुपर्ने बताउनुभयो । 

उहाँले सडक दुर्घटना दिनानुदिन बढिरहेकोले कलिला भाइबहिनीलाई मोटरसाइकल दिन नहुने र यदि विद्यार्थीहरू मोटरसाइकल चलाएको पाइएमा निजका आमाबुवालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।