• २४ चैत २०८२, मङ्गलबार

कारागारमा स्वास्थ्य परीक्षण गर्दा आठ जना कैदीमा नसर्ने रोग पुष्टि

blog

पाँचथर कारागारमा नसर्ने रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर :राधा लुइटेल

राधा लुइटेल 

फिदिम, चैत २४ गते । पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको स्क्रिनिङ शिविरले नसर्ने रोगको जोखिम देखाएको छ ।

नियमित स्वास्थ्य जाँचको पहुँचबाट टाढा रहने यस समूहमा गरिएको परीक्षणले ५७ जनामध्ये आठ जनामा स्वास्थ्य समस्या देखिएको हो । विश्व स्वास्थ्य दिवसको सन्दर्भ पारेर स्वास्थ्य कार्यालय पाँचथरले कारागार भित्रै पुगेर ‘प्रवर्धनात्मक स्क्रिनिङ शिविर’ सञ्चालन गरेको थियो ।

कोशी प्रदेश सरकारले अघि सारेको ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अवधारणालाई व्यवहारमा उतार्दै गरिएको यस पहलले बन्दी जीवनमा पनि स्वास्थ्य सचेतनाको आवश्यकता औंल्याएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारका अनुसार शिविरमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी सङ्केतका साथै उचाइ र तौलका आधारमा बिएमआई परीक्षण गरिएको थियो । 

परीक्षणका क्रममा चार जनामा मधुमेह र चार जनामा उच्च रक्तचापको समस्या पहिचान भएको उहाँले जानकारी दिनुभयो । यो सँगै कारागारमा परीक्षण गरिएका ५० वर्ष माथिका कैदीमा उच्च रक्तचाप बोडरमा देखिएको सुनारले जानकारी दिनुभयो ।  

पहिचान भएका बिरामीलाई आवश्यक परामर्श प्रदान गर्नुका साथै थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको जनाइएको छ । कारागारभित्र गरिएको यस्तो स्वास्थ्य परीक्षणले नसर्ने रोगको जोखिम समयमै पहिचान गरी उपचारको दायरामा ल्याउन सकिने सङ्केत दिएको छ । 

साथै, बन्दी जीवनमा पनि नियमित स्वास्थ्य निगरानी अपरिहार्य रहेको तथ्यलाई उजागर गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।