काठमाडौँ, चैत २४ गते । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले 'जेन–जी' आन्दोलनका क्रममा भएका कमीकमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
सांसद पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिएको भए पनि सरकारको प्रमुख पदमा रहेको नाताले जिम्मेवारी लिनुपर्ने तर्क गर्नुभयो । मातहतका कर्मचारी वा निकायबाट भएको गल्तीको नैतिक जिम्मेवारी प्रमुख व्यक्तिले लिनु नै लोकतान्त्रिक पद्धति भएको उहाँको भनाइ थियो ।
सांसद पुनले नेतृत्व तहले गल्ती स्वीकार गर्न हिचकिचाउन नहुनेमा जोड दिँदै भन्नुभयो, “आज उहाँहरूले गोली चलाउने आदेश दिएनौँ भन्नुहोला, तर प्रमुख त उहाँहरू नै हुनुहुन्थ्यो नि ! आफू प्रमुख हुँदा मातहतका कसैले गल्ती गर्यो वा बिरायो भने ‘बिराएछ’ भनेर भन्न सक्नुपर्छ ।”
फरक प्रसङ्गमा सांसद पुनले संसद्मा विभिन्न माननीय सदस्यले जनचासोका विषयमा राखेका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । संसद्मा उठेका विषयलाई सम्बोधन गरेर अघि बढ्नुको विकल्प सरकारसँग नरहेको उहाँको ठम्याइ छ ।