वासिङ्टन, चैत २४ गते । अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा खुला गर्नका लागि आफूले दिएको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरानलाई सम्बोधन गर्दै 'आज रात एउटा सिङ्गो सभ्यताको अन्त्य हुने' धम्की दिनुभएको हो ।
ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा ठुलो युद्धको सङ्केत गरेको छ । अमेरिकाले इरानको रणनीतिक जलमार्गमा लगाएको अवरोध हटाउन केही घण्टाको मात्र समय बाँकी रहेको उल्लेख गर्दै उक्त चेतावनी दिएको अलजजिराले लेखेको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानको ४७ वर्ष लामो 'भ्रष्टाचार र शोषण' को इतिहास आज रातिबाट समाप्त हुने दाबी गर्नुभएको हो ।
ट्रम्पले लेख्नुभएको छ, “आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुनेछ, जुन फेरि कहिल्यै फर्किएर आउने छैन । म यस्तो होस् भन्ने त चाहन्नँ, तर सम्भवतः यो हुनेछ ।” उहाँले इरानमा अब फरक, चलाख र कम कट्टरपन्थी सोच भएका व्यक्तिहरूको उदय हुने विश्वास व्यक्त गर्नुभएको छ ।
इरानको पछिल्लो राजनीतिक परिस्थितिलाई विश्व इतिहासकै एक महत्त्वपूर्ण र जटिल मोडको रूपमा व्याख्या गर्दै ट्रम्पले अगाडि भन्नुभएको छ, “हामीसँग अब पूर्ण र समग्र सत्ता परिवर्तनको अवस्था छ । सायद अब केही क्रान्तिकारी र सुखद परिणाम आउन सक्छन्, कसलाई थाहा छ ?”