काठमाडौँ, चैत २४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार राति र बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।
यसैगरी, मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा भने हावाहुरीको सम्भावना छ ।
महाशाखाका हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । देशको पहाडी र हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।
बिहीबार कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । सो स्थान तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।