• २४ चैत २०८२, मङ्गलबार

आलु उत्पादन घट्न नदिन कृषक प्रोत्साहन र अनुदानका कार्यक्रम

blog

हेमजाको खेतीको बिचमा बनेका घरहरु । पहिले आलुलगायतका खेतीपाती हुने यहाँ अहिले बस्ती बढेको छ । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, चैत २४ गते । पोखरा उपमहानगरलाई महानगर बनाउँदा यसमा गाभिएका दश गाविसमध्ये हेमजा पनि एक हो । गाविसबाट महानगर बनेपछि हेमजाको पृथक पहिचान गुमाएको यो क्षेत्रको अर्काे मौलिक पहिचान पनि हराउँदै जाने जोखिम बढेको छ । 

‘आलु गाउँ’का रुपमा चर्चित हेमजामा सहरीकरण बढ्दै जाँदा आलु खेती घट्दै गएको छ, घरहरु बढ्दै गएका छन् ।

पछिल्लो १० वर्षमा हेमजा क्षेत्रमा ५२.१० प्रतिशतले बस्ती बढेको तथ्याङ्कले देखाउँछ । विसं. २०७८ को जनगणना अनुसार साविकको हेमजा गाविस रहेको पोखरा–२५ मा तीन हजार पाँच सय १७ घर छन् । २०६८ को जनगणनामा त्यहाँ तीन हजार १९ घरमात्र थिए । हेमजाका निर्वाहमुखी र व्यावसायिक कृषक घटेका छन् । 

पछिल्लो तथ्याङ्क अनुसार १३ हजार पाँच सय हेक्टर क्षेत्रफल रहेको हेमजामा पाँच सय ९० हेक्टरमा मात्र आलु खेती लगाइन्छ । छिमेकी माछापुच्छ्रे गाउँपालिकासहित पर्वत, बागलुङ, म्याग्दी जिल्लाबाट हेमजामा बसाइसराई गर्ने क्रम तीव्र भएको छ । पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिना आलु उत्पादन घट्न नदिन महानगरले कृषक प्रोत्साहन र अनुदानका कार्यक्रम सँगसँगै ल्याएको बताउनुहुन्छ ।

आलुले हेमजालाई चिनाउनेसँगै समग्र महागरकै समृद्धिमा योगदान गरेको उहाँको भनाइ छ । महानगरका प्रवक्तासमेत रहनुभएका तिम्सिना भन्नुहुन्छ, “स्थानीय तहबाट यहाँ हुने आलु महोत्सवलाई संरक्षण गर्नका लागि रातो किताबमै राखेर प्रवर्धन गरिरहेका छौँ । यहाँको आलुखेतीलाई बढावा दिन लागेका छौँ ।” महानगरले वडाको करिब २२ प्रतिशत जमिनलाई मात्र कृषि जमिनमा वर्गीकरण गरेको छ, बाँकी जग्गा आवासमा राखिएकाले घर बन्न नीतिगत रुपमा रोक्न सक्ने अवस्था नरहेको उहाले उल्लेख गर्नुभयो ।

यहाँका पाँच सयभन्दा बढी किसानले व्यावसायिक आलुखेती गरिरहेको महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । राजमार्ग विस्तार, पूर्वाधार र बढ्दो बजारीकरणका कारण यहाँको कृषियोग्य जमिन घट्दै छ । “हेमजाको आलु बजारमा आउँदा पोखरामा बाहिरबाट आयात हुने आलुको मात्रा ५० प्रतिशत घट्छ,” उहाँ भन्नुहुन्छ, “महानगरका अन्य वडामा पनि व्यावसायिक आलु खेती प्रवद्र्धन गर्न सके पोखराको माग धान्न सकिन्छ । तर, बढ्दो सहरीकरणले खेतीपाती घट्दो छ ।”

हेमजाका किसान चन्द्रकान्त तिमिल्सिनालाई आलुले जसरी हेमजालाई चिनायो, आलु हराए त्यसरी नै परिचय हराउन सक्ने चिन्ता छ । लामो समय कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कृषि प्राविधिक अधिकृत रहनुभएका उहाँका अनुसार हेमजामा आलु लगाउन थालिएको २०४३/४४ सालदेखि हो । 

कृषि अनुसन्धान केन्द्र लुम्लेले परीक्षणका रुपमा लगाएको आलु खेती परीक्षण सफल भएपछि २०४५/४६ सालदेखि व्यावसायिक खेती थालिएको थियो । “२०२८ सालतिर सावेत, घान्द्रुक, छोम्रोङ, खिलाङ, सिक्लेस लेकबाट आलु ल्याइएको मलाई याद छ । लुम्ले कृषि केन्द्रको अनुसन्धान सफल भएपछि व्यावसायिक खेती थालियो,” तिमिल्सिना भन्नुहुन्छ ।

हेमजामा एमएस–४२, खुमल लक्ष्मी, जनकदेव लगायतका जातका आलु लगाउने गरिएको छ । । कात्तिक, मङ्सिरमा लगाएको आलु चैतसम्ममा खनिन्छ । यहाँ आलु भण्डारणका लागि महानगरको सहयोगमा चिस्यान केन्द्र पनि बनेको छ । पछिल्लो समय आलु महोत्सव हुन थालेपछि आलुले सहजै बजार पाएको छ ।

यस्तै, हेमजामा उत्पादित आलुको प्रचार र बजारीकरण गर्न विष्णुपादुका क्लबले २०६६ देखि महोत्सव गर्दै आएको छ । यसपालि हुने १४ औं संस्करणको आलु महोत्सव चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म चल्नेछ ।

महोत्सव आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै महोत्सवका लागि ५० टनभन्दा बढी आलु सङ्कलन गरिएको बताउनुहुन्छ । “महोत्सव अवधिभर ८० टन आलु बेच्ने लक्ष्य लिएका छौँ,” उहाँले भन्नुभयो । 

‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने उद्घोषका साथ हुने महोत्सवमा ताजा तरकारी प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवम् बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत आकर्षण छन् । यसपालिको महोत्सवमा आलु प्रतिकेजी ३५ रुपियाँमा कारोबार हुनेछ ।