• २४ चैत २०८२, मङ्गलबार

बोप्ताङमा कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता

blog

पूर्वी नेपालकै उत्कृष्ट र भाइरल स्थलको रुपमा परिचित उदयपुरको वेलका नगरपालिका वडा ८ बोप्ताङमा क्षेत्रबाट देखिने प्याराग्लाइडिङ्ग उडानको मनोरम सुन्दर दृश्य । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, चैत २४ गते । साहसिक खेल प्याराग्लाइडिङ्ग उडानका लागि पूर्वी नेपालकै उत्कृष्ट र भाइरल स्थलको रुपमा परिचित उदयपुरको वेलका नगरपालिका वडा ८ बोप्ताङमा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता २०८२ सञ्चालन हुने निश्चित भएको छ । 

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघ जिल्ला समिति उदयपुरको आयोजनामा कोशी प्रदेशमै पहिलो पटक आयोजित यो प्रतियोगिता चैत २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुने छ । उदयपुरको बेलका नगरपालिका–८ बोप्ताङ्गबाट १३५ वटा उडान भरेर कोशी टप्पु आरक्ष लगायत सप्तकोशीको मनोरम दृश्यहरु अवलोकन गर्दै किनाराको लाहुरे खोजमा अवतरण गरिने भएको हो।

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघ जिल्ला समिति उदयपुरले मङ्गलबार गाईघाटमा पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । संघका उदयपुर सचिव जितेन्द्र रोइलाका अनुसार प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगितामा दुई भारतीय, एक-एक जना चिनियाँ र जर्मनी गरी चारजना विदेशी र ३१ जना नेपालीसहित ३५ जना प्याराग्लाइडिङ पाइलटहरु सहभागी हुनेछन्। 

प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता विशेष हवाई खेलकुद हो । यसको मुख्य उद्देश्य पाइलटहरूले हावामा उडेर जमिनमा तोकिएको निश्चित बिन्दुमा कति सटिक रूपमा अवतरण गर्न सक्छन भन्ने प्रतिस्पर्धा गराउनु हो भन्नुहुँदै सचिव रोईलाले भन्नुभयो, ‘एक जना प्याराग्लाइडिङ पाइलटले तीन पटक उडान गर्ने अवसर पाउनेछन् ।’

यस प्रतियोगिताले नेपालको पर्यटन र साहसिक खेल क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा सचिव रोइलाले करिब चारलाख ९० हजार रुपियाँको लागतमा यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । जसमा राजु राई सिक्किम,भारत तथा सुरेन गुरुङ र विमल अधिकारीले निर्णायक मूल्याङ्कन गर्नुहुनेछ ।

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघ जिल्ला समिति उदयपुरका अध्यक्ष इश्वर साम्पाङ राईका अनुसार उदयपुर जिल्लामा हालसम्म दुईजना महिला र १६ जना पुरुष गरी जम्मा १८ जना सोलो पाइलट हुनुहुन्छ । ‘उदयपुरमा २०७८ सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको हो ।’

बेलका नगरपालिका–८ बोप्ताङमा ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालि मार्फत प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा रहेको छ । यहाँ आधारभूत पाइलट तालिम प्रदान गरिन्छ । नेपालका साथै भारत, चीन तथा युरोपका स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, पोर्चुगललगायत देशबाट समेत यहाँ प्रशिक्षण लिन आउने गरेको अध्यक्ष साम्पाङ्ग राईले बताउनुभयो ।  

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघका केन्द्रीय सदस्य महेन्द्र राईका अनुसार उदयपुरका विभिन्न स्थानमा प्याराग्लाइडिङको उच्च सम्भावना रहेको छ । रौतामाई गाउँपालिकाको रौतापोखरी, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी, चौदण्डीगढी नगरपालिकाको चौदण्डीगढी, कटारी नगरपालिकाको महाभार क्षेत्र तथा त्रियुगा नगरपालिकाका विभिन्न डाँडाहरू उडानका लागि उपयुक्त स्थानका रूपमा रहेको उहाँले बताउनुभयो ।  

उदयपुरमा सम्भावना उच्च भए पनि पूर्वाधार (टेकअफ र ल्यान्डिङ) को अभाव र सरकारी नीति स्पष्ट नहुनु मुख्य समस्या रहेको प्याराग्लाइडिङ सोलोपाइलट भुपाल राउतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उदयपुरको प्राकृतिक सौन्दर्य,पहाडी भूगोल र अनुकूल मौसमका कारण यहाँ प्याराग्लाइडिङ उडानको धेरै राम्रो सम्भावना रौता पोखरीबाट गरिने उडानमा विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिकैबाट सहजै देख्न सकिन्छ ।"