अनिल पराजुली
हेटौँडा, चैत २४ गते । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी अनुसार प्रदेशको राजधानी समेत रहेको हेटौँडालाई स्वस्थ सहर बनाउने कार्यको थालनी गरिएको हो ।
‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मङ्गलवार हेटौँडामा आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य कार्यालयका अन्य कर्मचारीसहित हेटौँडा उपमहानगरपालिका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् कर्मचारीहरुलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुर्य प्रसाद तिवारी र जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र विश्व स्वास्थ्य सङ्गठन बागमती प्रदेशका अधिकृत हरि भुसालले स्वस्थ सहर निर्माणका लागि आवश्यक कार्ययोजना बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पुर्याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाइएको छ ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा ‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम सुरु भएको छ । साथै रसुवाको गोसाईकुण्डमा स्वास्थ्य प्रवर्धन कार्यक्रम सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषित भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको थियो ।
सन् २०१६ मा चिनको संघाई भन्ने सहरमा भएको स्वस्थ सहर सम्बन्धि भएको मेयर सम्मेलन पश्चात दिगो विकासका लागि मेयरहरुनै वास्तविक परिर्वतन ल्याउने शक्ति हुन भन्ने प्रतिवद्धतासहित स्वस्थ सहरको अवधारणा अगाडि आएको थियो ।
मानिसको स्वास्थ्यलाई स्वस्थ बनाउन स्वास्थ्य क्षेत्रको योगदान २० प्रतिशत मात्रै हुन्छ भने बाँकी ८० प्रतिशत अन्य क्षेत्रहरु खानपान, घरायसी वातावरण, पर्यावरण, शिक्षा, रोजगारी र आर्थिक अवस्थाको प्रभाव रहने गरेको विश्व स्वास्थ्य संगठन प्रदेश अधिकृत भुसालको भनाई छ । प्रदेशमा करिव ७० प्रतिशत मानिस सहरमा बसोबास गर्दै आउनुभएको छ भने पछिल्लो समय नसर्ने रोग पनि बढ्दै गएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रदेश सचिव डा.सुमित्रा गौतम, हेटौँडा उपमहानगरपालिका महाशाखा प्रमुख भिम तिमल्सिना लगायतकाले हेटौँडालाई स्वस्थ सहर बनाउने बारे आफ्नो धारणा राख्नुभएको थियो ।