नवीनराज कुइँकेल
लमजुङ, चैत २४ गते । लमजुङको राइनास नगरपालिका–४, सातबिसेमा पाँच वर्षअघि स्थापना गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) किसानका लागि उपयोगी बने पनि सञ्चालन खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । मासिक करिब ४० हजार रुपियाँ विद्युत् शुल्क तिर्न चिस्यान केन्द्रलाई कठिनाइ भएको हो ।
जनहित कफि तथा कृषि सहकारी संस्थाद्वारा सञ्चालित चिस्यान केन्द्र चार टन क्षमताको रहेको छ । यहाँ स्थानीय किसानका साथै गोरखा र तनहुँबाट समेत आलु भण्डारण गर्न ल्याउने गरिएको सहकारीका अध्यक्ष गोविन्दराज न्यौपानेले बताउनुभयो ।
चिस्यान केन्द्र चैतदेखि कात्तिकसम्म सञ्चालन हुने गर्दछ । किसानहरूले आलु दीर्घकालीन रूपमा राख्न, उचित मूल्य पाउने समयमा बिक्री गर्न तथा बिउको रूपमा प्रयोग गर्नका लागि केन्द्रमा भण्डारण गर्ने गरेका छन् । जाडो महिनामा भने केन्द्र सञ्चालनमा आउँदैन । सहकारीले किसानसँग प्रति किलो प्रति महिना १ रुपियाँ ५० पैसा शुल्क लिने गरेको छ । तर उक्त आम्दानीले केन्द्रको सञ्चालन खर्च, विशेषगरी विद्युत् शुल्क धान्न पर्याप्त नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो “मासिक ४० हजारसम्म विद्युत् शुल्क लाग्छ, तर आम्दानीले त्यसलाई धान्न निकै गाह्रो भएको छ ।” चिस्यान केन्द्र सञ्चालनका लागि प्राविधिक कर्मचारी समेत राखिएको छ, जसलाई मासिक तलब दिनुपर्छ । विद्युत् शुल्क बढी लाग्दा थप आर्थिक भार बढाएको न्यौपानेले बताउनुभयो ।
उक्त केन्द्र पाँच वर्षअघि गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लागत साझेदारीमा स्थापना गरिएको हो । गण्डकी प्रदेश सरकारले ७० लाख रुपियाँ र सहकारीले १२ लाख रुपियाँ लगानी गरी कुल ८२ लाख लागतमा केन्द्र निर्माण गरिएको हो । कफि व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न गतिविधि विस्तार गर्दै आएको छ । सहकारीमा हाल करिब ६ सय शेयर सदस्य आबद्ध रहेका छन् ।
यद्यपि, किसानलाई राहत दिने उद्देश्यले स्थापना गरिएको चिस्यान केन्द्रको दीगो सञ्चालनका लागि विद्युत शुल्क व्यवस्थापन ठुलो चुनौतीको रूपमा देखिएको छ । सम्बन्धित निकायबाट सहुलियत वा सहयोगको आवश्यकता रहेको किसानहरूले बताएका छन् ।