• २४ चैत २०८२, मङ्गलबार

तनहुँको भानुमा आमा र छोरा मृत फेला

blog

अमरराज नहर्की

तनहुँ, चैत २४ गते । तनहुँको भानु नगरपालिका–६, पण्डिथोकमा एक महिला र उहाँका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २५ वर्षीया सरिता परियार र उहाँका एक वर्षीय छोरा कुमार परियार मङ्गलबार दिउँसो मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी अमृत लामिछानेका अनुसार घर नजिकैको देउराली सामुदायिक वनमा रहेको कटुसको रुखको फेदमा सरिता मृत अवस्थामा फेला पर्नुभएको थियो । सोही स्थानमा आमाको काखमा नाबालक छोरा कुमार पनि मृत अवस्थामा भेटिएको हो । 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भानुका प्रमुख गोपाल पौडेलसहितको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी दुवै शवलाई पोस्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाएको छ । “घटनाको प्रकृति हेरेर थप अनुसन्धान अगाडि बढाएका छौँ, पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्नेछ,“ सूचना अधिकारी लामिछानेले भन्नुभयाे । मृतक सरिता स्थानीय राजु परियारकी श्रीमती हुनुहुन्छ ।