काभ्रे, चैत २४ गते । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभएको छ । वर्षायाममा रोशी खोलामा आउने बाढीका कारण स्थानीयवासीले बर्सेनि भोग्दै आएका समस्या र गुनासो बढेपछि उहाँले सो क्षेत्रको प्रत्यक्ष अवलोकन गर्नुभएको हो ।
गृहमन्त्री गुरुङलाई नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानामा नमोबुद्धका नगर प्रमुख कुनसाङ लामा र रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले स्वागत गर्नुभएको थियो ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै उच्च जोखिममा रहेका बस्ती तथा भौतिक पूर्वाधारको वस्तुस्थितिबारे अध्ययन गर्नुभएको छ । बर्खा सुरु हुनुअघि नै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सरकारी निकायबिचको समन्वयका विषयमा उहाँले चासो व्यक्त गर्नुभएको छ ।
मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्नुभएका गुरुङको यस भ्रमणले वर्षातको समयमा हुने जनधनको क्षति कम गर्न र दीर्घकालीन सुरक्षा योजना निर्माणमा सहयोग पुग्ने स्थानीय तहका जनप्रतिनिधिले विश्वास लिएका छन् ।