• २४ चैत २०८२, मङ्गलबार

कर्मचारी नहुँदा इलाका प्रशासन सञ्चालन अन्योल

blog

इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको तेल्लोक क्षेत्र र गाउँपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २४ गते । कर्मचारी व्यवस्थापन नहुँदा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा स्थापना गर्ने भनिएको इलाका प्रशासन कार्यालय सञ्चालनको विषय अन्योल रहेको छ । सरकारले साढे तीन तीन महिना अघि इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको भए पनि हालसम्म कर्मचारी व्यवस्थापन नहुँदा कार्यालय सञ्चालन अन्योल रहेको हो ।

सरकारले गत पुस ११ गते यहाँको सिरिजङ्घा गाउँपालिका प्रशासकीय केन्द्र रहेको तेल्लोकसहित देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयसँगै सरकारले कार्यालय सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी पनि स्वीकृत गरेको थियो ।

कार्यालय प्रमुखका रूपमा अधिृकतस्तर एकजना, नायव सुब्बा दुई जना, सहायक कम्प्युटर अप्रेटर एक जना र कार्यालय सहयोगी दुई समेत छ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत गरिएको भए पनि कर्मचारी खटाइएको छैन । दरबन्दी स्वीकृत भएअनुसार कर्मचारी व्यवस्थापन नहुँदा अहिलेसम्म इलाका प्रशासन कार्यालय सञ्चालनमा आउन नसकेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले इलाका प्रशासन कार्यालय स्थापनाबारे मन्त्रालयसमक्ष अवगत गराई सकेको भए पनि अहिलेसम्म कर्मचारी (जनशक्ति) नखटाएको बताउनुभयो । प्रजिअ सेढाइँका अनुसार कर्मचारी व्यस्थापन अर्थात खटाउने विषयमा अहिलेसम्म कुनै निश्चित भएको छैन । अहिलेसम्म कर्मचारी व्यवस्थापन नगर्नाले इलाका प्रशासन कार्यालय सञ्चालनको विषय अन्योल नै रहेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले पनि स्वीकृत दरबन्दी अनुसारको कर्मचारी नखटाउँदा इलाका प्रशासन कार्यालय सञ्चालन गर्नमा ढिलाइ भएको बताउनुभयो । सहायक प्रजिअ भट्टराईका अनुसार इलाका प्रशासन कार्यालय स्थापना भई सञ्चालनमा आउँदा त्यस क्षेत्रका सेवाग्राहीलाई राहत पुग्ने थियो ।

यता सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेर अहिलेसम्म कर्मचारी व्यवस्थापन नगर्नु दुःखद पक्ष भएको बताउनुभयो । गाउँमै इलाका प्रशासन कार्यालय खुल्ने सन्देश पाएपछि नागरिकता बनाउने लगायतका सेवा लिनलाई सदरमुकाम पुग्न नपर्नेभन्दै खुसी भएका स्थानीयहरूमा निरासा छाउन थालेको उपाध्यक्ष डा. माबोले बताउनुभयो । 

उहाँका अनुसार इलाका प्रशासन कार्यालय चाँडो सञ्चालनमा ल्याउने वातावरणका लागि मन्त्रालय वा सम्बन्धित निकायमा पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ । तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएमा जिल्लाको पूर्वी क्षेत्रका सिरिजङ्घा गाउँपालिका, सिदिङ्वा गाउँपालिकाका सबै वडा र पाथीभरा याङ्वरक गाउँपालिकाका केही वडा समेतका नागरिकलाई राहत पुग्ने छ ।