• १५ वैशाख २०८१, शनिबार

३० वटा मतदान केन्द्रको नेतृत्व महिलालाई

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङ । तस्बिर: बेलिना थापा, लमजुङ

लमजुङ, मङ्सिर ३ गते । मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान कार्य सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले लमजुङका ३० वटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृत बनाएको छ ।

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ ।

सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालय अस्थायी मतदान केन्द्रसहित १ सय ८८ वटा मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब १६ प्रतिशत महिला मतदान अधिकृत र करिब ३१ प्रतिशत महिला सहायक मतदान अधिकृत खटाएको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत महिलालाई सदरमुकाम बेंसीसहर र वरपर बढी खटाएको छ । बढी मात्रामा नगरपालिकाका मतदान केन्द्रमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामबाट टाढा रहेका मतदान केन्द्रहरू प्रायः संवेदनशील हुने र नजिकका ठाउँहरू सामान्य हुने भएकाले सामान्य ठाउँमा महिला अधिकृत र सहायक अधिकृत महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बताएको छ ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।