• ६ वैशाख २०८३, आइतबार

राष्ट्रिय जुनियर टेनिसमा भान्सीलाई दोहोरो स्वर्ण

blog

कास्की, वैशाख ६ गते । पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण पदक जितेकी छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन उहाँले यू-८ र यू-९ ‘गल्र्सतर्फ’ स्वर्ण पदक जित्नुभएको हो ।

प्रतियोगिताअन्तर्गत यू-८ र यू-९ गल्र्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू-८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले कास्य पदक जित्नुभएको छ । त्यसैगरी ‘ब्वाइज’ यू-८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत र अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले रजत पदक जित्नुभएको छ।

यू-९ तर्फ ‘गल्र्स’मा भान्सीले स्वर्ण पदक जितिन् भने मिलिवाना लावतले रजत तथा सेजल राना मगरले रजत पदक जित्नुभयो । जारी प्रतियोगिता यू-१८ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र शाश्वत बज्राचार्य फाइनलमा एकअर्काको सामना गर्नेछन् । 

दर्शिलले सेमिफाइनलमा स्पन्दन उदासलाई ६-०, ६-१ को सोझो सेटमा पराजित गर्दा शाश्वतले सुरेन्द्र विकलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् ।

यसैगरी, यू-१६ गल्र्सतर्फ ऐरा खत्री र शोरा थापा फाइनलमा स्थान पक्का गरेका छन् । आज भएको सेमिफाइनलमा ऐराले शाल्भी शेरचनलाई पराजित गरिन् । उनले ६-१, २-६ र ६-० ले पराजित गरेकी हुन् । त्यस्तै, शोराले आरुषी तुलाचनलाई ६-०, ६-० ले पाखा लगाइन् ।

यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यू-८, यू-९, यू-१०, यू-१२, यू-१४, यू-१६ र यू-१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी कुल १६ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जनाउनुभएको छ। प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित मुलुकका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता छ । 

प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीको सहभागिता रहेको सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले बताएका छन् । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन् । 

“विद्यालयतयबाट टेनिस खेल विकास गरी योग्य र सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ”, चालिसेले भनेका छन् । रासस