• ७ वैशाख २०८३, सोमबार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

भक्तपुर, वैशाख ६ गते । आजदेखि १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रतियोगिताको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो ।

यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामध्ये भलिबलतर्फका खेल सूर्यविनायक भलिबल खेलमैदानमा, एथ्लेटिक्सतर्फ सूयविनायकस्थित सङ्कटा क्लबको खेलमैदानमा, करातेतर्फ भक्तपुर नगरपालिकास्थित देकाचा कराते कबर्डहलमा, तेक्वान्डो र उसुतर्फका खेल चाँगुनारायण हेल्मेडडाँडास्थित कबर्डहलमा, कबड्डीतर्फ आदर्श माध्यमिक विद्यालय सानोठिमीमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताका छ खेलमा जिल्लाका चार वटा पालिकाबाट एक हजार १२६ खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताअन्तर्गत प्रत्येक विधामा उत्कृष्ट हुने खेलाडीलाई आगामी जेठमा बागमती प्रदेशमा हुने बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराई प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो । रासस