• ६ वैशाख २०८३, आइतबार

लिफ्ट प्रणाली बिग्रिएपछि खानेपानीको चरम अभाव

blog

दुई महिनादेखि पानी आउन छाडेको कपुरकोट, ४ किमुचौरस्थित एक उपभोक्ताको धारा । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, वैशाख ६ गते । लिफ्ट प्रणाली बिग्रिएपछि खानेपानीको चरम अभावले सल्यानको धनवाङ तथा किमुचौरका करिव दुई सय घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा ४ अन्तर्गत पर्ने धनवाङ र किमुचौरका माथिल्लो बस्तीका १९४ घरपरिवार लिफ्ट प्रणालीमा आधारित खानेपानी योजना बिग्रिएपछि करिब दुई महिनादेखि पानीको संकट झेल्न बाध्य भएका हुन् ।

पहिले घर नजिकैको धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय अहिले बिहान सबेरै उठेर घण्टौँ टाढा धाएर पानी बोक्न बाध्य छन् । पिउने पानीको जोहो गर्नकै लागि दिनको धेरै समय खर्चिनु परेकाले दैनिक जीवन अस्तव्यस्त बनेको छ । किमुचौरकी स्थानीय उमादेवी थापाका अनुसार पानीको अभावले खाना पकाउने, सरसफाइ गर्ने, नुहाउनेजस्ता आधारभूत काम समेत प्रभावित भएका छन् । “धारामा पानी आउन छाडेपछि निकै दुःख भएको छ, नुहाउने, कपडा धुने त धेरै परको कुरा भयो, कतिपय दिन त पिउने पानी नै अभाव हुन्छ,” उहाँले भन्नुभयो ।

धनवाङ–किमुचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मणिराम रानाका अनुसार सोलार लिफ्ट प्रणालीमा जडान गरिएको मोटर र पम्पमा समस्या आएपछि मुहानबाट पानी तान्नै सकिएको छैन । समस्या समाधानका लागि उपकरणहरू तीन चार पटक मर्मतका लागि लगिए पनि सोलार प्रणालीमै जटिल समस्या देखिएकाले योजना अझै सञ्चालनमा आउन सकेको छैन ।

लामो समयसम्म समस्या समाधान नभएपछि अब विद्युत लाइन विस्तार गरेर पानी तान्ने प्रयास सुरु गरिएको अध्यक्ष रानाले बताउनुभयो । तर यसका लागि आवश्यक बजेट अभाव हुँदा उपभोक्तामाथि थप आर्थिक भार परेको छ । “बिद्युतीकरणको काम भैरहेको छ, विद्युतीकरणमा पनि गाउँपालिकाबाट अधुरो स्टमेट भएकाले बजेट अभाव देखिएपछि हामी उपभोक्ताहरुले दुई-दुई हजार रुपियाँ उठाएका छौँ । त्यही रकम पनि अझै २५ प्रतिशत जम्मा हुन बाँकी नै छ”, उहाँले भन्नुभयो । विद्युत जडानका लागि विद्युत कार्यालयमा करिब सवा एक लाख रुपियाँ धरौटी राखिएको उहाँले बताउनुभयो ।

स्थानीयहरूले यसअघि पनि नियमित रूपमा पानी उपभोग गरेबापत मासिक न्यूनतम दुई सय रुपैयाँ शुल्क तिर्दै आएका छन् । तर सेवा बन्द हुँदा समेत आफूहरूले थप रकम संकलन गर्नुपरेको भन्दै उनीहरूले गुनासो गरेका छन् ।

खानेपानीजस्तो आधारभूत आवश्यकतामा समस्या आउँदा यसको प्रत्यक्ष असर स्वास्थ्य, सरसफाइ र समग्र जीवनशैलीमा परेको छ । पर्याप्त पानी नहुँदा सरसफाइमा कमी आएको छ भने बालबालिका, वृद्धवृद्धा तथा महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । पानी ल्याउने जिम्मेवारी प्रायः महिलामाथि पर्ने भएकाले उनीहरूको श्रम र समय दुबै खर्चिएको छ ।

गर्मीयाम सुरु भएसंगै सल्यान स्थित विभिन्न स्थानीय तहका माथिल्लो बस्तीका नागरिकहरुले खानेपानीको समस्या भोग्नुपर्ने बाध्यता रहेको छ । संघ, प्रदेश सरकार, स्थानीय तह एवं अन्य दातृ निकायको लगानीमा लिफ्ट प्रणालीबाट खानेपानी योजनाहरु निर्माण भएपनि पटक पटक विभिन्न समस्या आउनेगरेको उपभोक्ताहरु बताउँछन् ।