चन्द्र पन्दाक
ताप्लेजुङ, बैशाखा ६ गते । नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरेको छ । नेविसङ्घको ५७ औं स्थापना दिवसको अवसरमा आइतबार क्याम्पसमा अध्ययरत १२ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नेविसङ्घले शैक्षिकसत्र २०८१–८२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने १२ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जनही पाँच हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिएको नेविसङ्घका जिल्ला सभापति लोकेश लङ्वा लिम्बूले जानकारी दिनुभयो ।
जिल्ला सभापति लिम्बूका अनुसार क्याम्पसमा अध्ययरत शिक्षा, मानविकी र व्यवस्थापन संकायमा प्रथम वर्ष हुँदै चौथो वर्ष सम्मको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित हुनु भएको छ । सम्मानित हुनेमा शिक्षा संकायतर्फ बृटनी थेबे, प्रतिमा सेन्दाङ, पूजा लिम्बू र डिल्लीबहादुर खाती रहनुभएको छ ।
त्यस्तै, मानविकीतर्फ सुजाता दाहाल, विविका केदेम, खिमबहादुर पुन र पुनम माबो लिम्बू सम्मानित हुनुभएको छ । व्यवस्थापन संकायतर्फ भने जीवनसिंह साउद, ङिमा शेर्पा, जमुना बराल र निर्मला पौडेल सम्मानित हुनुभएको नेविसङ्घले जनाएको छ ।
सम्मानित विद्यार्थीलाई नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, जिल्ला सचिव तथा मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर), फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेन लगायतले पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको छ ।
यता यस पटकदेखि नै स्थापना दिवसमा नगदसहित उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्न सुरु गरेको र यस कार्यलाई निरन्तरता दिइने नेविसङ्घ जिल्ला कार्यसमितिले जनाएको छ । कार्यक्रमा क्याम्पस सञ्चालक समितिका सदस्य, क्याम्पस प्रमुख सजन पौडेल लगायतको उपस्थिति थियो ।