लीलाराज खड्का
बिर्तामोड, वैशाख ६ गते । झापाको चन्द्रगढीमा आयोजित प्रथम महिला गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले पाहुना टोली भुटानको थिम्पु सिटी महिला फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
आइतबार सम्पन्न खेलमा चर्च ब्वाइजले भुटानको थिम्पु सिटीको चुनौती ३–२ गोल पन्छायो । चर्च ब्वाईजले खेलको २७औँ मिनेटमा अग्रता बनायो । भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत बनेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाईजकै तर्फबाट खातुनले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोलमा परिणत भएको थियो ।
पहिलो हाफ २–० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४औँ मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्चकीे गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
भुटानले अर्काे गोल उपहारमार्फत पायो । ५८औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो ।
७९औँ मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा गोल खान पुगेको थियो । मैदानको मध्य भागमा पाएको बललाई चर्च ब्वाईजकी वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गर्नुभयो ।
खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी २ गोलकर्ता मरियम खातुन हुनुभयो । उहाँले नगद ११ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुनेछ ।