• ६ वैशाख २०८३, आइतबार

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

दोधारा चाँदनी (कञ्चनपुर), वैशाख ६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्र हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।  

“कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो” ढकालले भन्नुभयो, “सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।” उहाँले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा आफूले लगानी गरेको बताउनुभयो। 

“सुदूरपश्चिममा जहाँ हेर्‍यो त्यहीँ सम्भावना छ, त्यसकारण यहाँको सबैभन्दा ठुलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ” अध्यक्ष ढकालले भन्नुभयो, “यसले सुदूरपश्चिमको मात्रै नभई मुलुमकै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउने छ ।” उहाँले इमान्दारिताका साथ काम गरे प्रतिफल आउने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिमबाट छिमेकी मुलुक भारतका ठुला औद्योगिक क्षेत्रनजिक रहेकाले त्यसको फाइदा पनि सुदूरपश्चिमलाई रहेको बताउनुभयो । 

“यहाँको बडिमालिका, रामारोशनजस्ता धार्मिक पर्यटकीय गन्तव्य छन्” ढकालले भन्नुभयो, “अब पर्यटकीय पूर्वाधारमा पनि लगानी हुनुपर्छ ।” उहाँले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गरिरहेको बताउनुभयो । रासस