• ६ वैशाख २०८३, आइतबार

मुक्त कमैयालाई सुरक्षित आवास हस्तान्तरण

blog

मुक्त कमैयालाई सुरक्षित आवास हस्तान्तरण गर्दै मन्त्री वीरबहादुर थापा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख ६ गते ।कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका २१ मुक्त कमैया घर परिवारलाई आइतबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।

 विपिन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकार, बर्दगोरिया गाउँपालिका, ह्याबिटाट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त सहयोगमा आवास निर्माण गरेर हस्तान्तरण गरिएको हो । 

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले आवास उद्‌घाटन र हस्तान्तरण गर्नुभयो । सो क्रममा उहाँले नेपालमै पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाएर मुक्त कमैया, मुक्त हलिया र कमलरीका लागि सुरक्षित आवास निर्माणको कार्य अगाडि बढाएको बताउनुभयो । तीन तहकै सरकारबीच समन्वय भएर सही तथ्यतथ्याङ्क आएमा यी वर्गको लागि आवश्यक सुरक्षित आवास एकै वर्षमा बनाउन सकिने उहाँको भनाइ थियो । 

कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य रामेश्वर चौधरीले पुनर्स्थापना सहजताका लागि स्थानीय तहहरुलाई पनि मुक्त कमैया, कमलरी तथा मुक्त हलिया पुनर्स्थापना कार्यविधि चाँडै बनाउन आग्रह गर्नुभयो ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गाउँपालिकाभित्र रहेका सबै मुक्त कमैयाको पुनस्र्थापना गर्न तयार रहेको बताउनुभयो । ह्याबिटाट फर ह्युमानिटी नेपालका पश्चिम प्रमुख पुनिता चौधरीले आफ्नो संस्थाले अहिलेसम्म मुक्त कमैया, मुक्त हलियासहित विपन्न वर्ग भूमिहीनका लागि २५२ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको उल्लेख गर्नुभयो ।

 उहाँले यी वर्गहरुको घर मर्मतका लागि पनि अगाडि बढ्ने तयारी भइरहेको बताउनुभयो । राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष मोहन ओडले प्रदेश सरकार, स्थानीय तह र सङ्घसंस्थाहरूको सहकार्यमा सुरक्षित आवास निर्माण गरिएको जानकारी दिनुभयो । 

कुल एक करोड ४७ लाख ६९ हजार रुपियाँ लगानीमा चर्पी, भान्सासहित दुई कोठे आवास २१ वटा निर्माण गरिएको जनाइएको छ ।