• १६ वैशाख २०८१, आइतबार

मनाङमा लैङ्गिक हिंसाको मुद्दा शून्य

blog

लैङ्गिक हिंसा सम्बन्धी विषयमा प्रशासनमा अन्तरक्रिया गरिँदै । तस्बिर: बेलिना थापा

लमजुङ, मङ्सिर १७ गते । हिमाली जिल्ला मनाङमा लैङ्गिक हिंसाका उजुरी शून्य रहेको छ । चालु आर्थिक बर्षको साउनदेखि हालसम्म एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेको छैन । गत आर्थिक वर्षमा भने तीन वटा मुद्दा दर्ता भएको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला प्रशासन कार्यालय मनाङमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा आचार्यले उक्त जानकारी गराउनुभएको हो । लैङ्गिक हिंसामा उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङलाई लिन सकिन्छ । वहुपति प्रथा अंगाल्ने भोटे समुदायको बसोबास रहनु र यी समुदायमा महिला प्रधान हुनुले पनि महिला हिंसा सम्बन्धीका मुद्दा शून्य रहेको पाइएको छ । सामाजिक परम्परा, संस्कारका कारण पनि हिंसाका घटना बाहिर आउने गर्दैन । कतिपय गाउँमा घटनाहरू गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता रहेकाले पनि घटना बाहिर नआएको प्रजिअ आचार्यले बताउनुभयो ।

सुरुमा गाउँमा मिलाउने र मिलाउन नसकेमा मात्र बाहिर आउने गर्दा प्रहरीमा उजुरी कम परेको प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले बताउनुभयो । उहाँका अनुसार आफ्नै सामाजिक, सांस्कृतिक मान्यताका कारण पनि हिंसाको घटना प्रहरीमा आई पुग्दैन । प्रहरीमा आएका व्यक्तिलाई पुनः समाजमा जीवनयापनमा समेत समस्या हुने गरेकाले चालु आर्थिक वर्षमा मुद्दा शून्य छ । कतिपय घटनाहरू समाजमा लुकेर बसेको हुन सक्ने बताउनुभयो ।

यस्ता घटनाको उजागरका लागि र पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम पनि गर्दै आएको जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले लैङ्गिक हिंसाको परिचय, प्रकार, नेपालको अवस्था, जिल्लाको अवस्था, कानुनी व्यवस्था, निवारणका लागि भएको प्रयासहरू, हिंसाका कारण, कारक तत्त्व, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात, उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढुङ्गानाले लैङ्गिक हिंसा र घरेलु हिंसाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीले जिल्लामा हिंसाका घटना बाहिर नसकेको भन्दै सचेतनाको आवश्यक पर्ने बताएका छन् । गाउँ गाउँमा सचेतनाको कार्यक्रम गर्न सके हिंसाका घटना बाहिर आउने र पीडितले न्याय पाउने बताएका छन् ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।