गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ४ गते । नेकपा (एमाले) ले ११ औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनुभएको छ ।
बैठकले प्रतिनिधि व्यवस्थापन उपसमितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेललाई सचिव तय गरेको छ । उपसमितिको सदस्यहरुमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू रहनुभएको छ । कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरूमा महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन् ।
जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, सदस्यहरुमा इन्चार्ज गण्डकी र मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, अध्यक्ष वागमती, गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी ,वागमती प्रदेश अन्तर्गतका जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरु, अध्यक्ष— उपत्यका विशेष जिल्लाहरु अध्यक्ष— पार्टी सम्वद्ध जनसंगठनहरु रहेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डितलाई सचिव तोकिएको छ । उपसमितिको सदस्यहरुमा सम्पर्क समन्वय कमिटी इन्चार्ज र पदाधिकारीहरु रहने व्यवस्था गरिएको छ ।
यस्तै, खाद्य व्यवस्थापन उपसमितिको संयोजकमा लेखराज भट्ट, भीष्म अधिकारी सचिव रहनु भएको छ । उपसमितिको सदस्यहरुमा उपत्यका विशेष कमिटीका इन्चार्ज, अध्यक्ष र पदाधिकारीहरु रहेका छन् । यातायात व्यवस्थापन उपसमितिको संयोजकमा गोकर्ण विष्ट र रचना खड्कालाई सचिव तोकिएको छ । उपसमितिको सदस्यहरुमा उद्योग व्यावसायी महासंघका अध्यक्ष, यातायात सम्बद्ध व्यावसायी संगठन र ट्रेड युनियनका पदाधिकारीहरु रहेका छन् ।
रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार उपसमिति गठन भएको ज्ञवालीले बताउनुभयो । यामलाल कंडेल, हिक्मत कार्की, चेतनारायण आचार्य राष्ट्रिय सभाका सदस्यहरु देवेन्द्र दाहाल, सोनाम ग्याल्जेन शेर्पा, गोपाल भट्टराई र डा अन्जान शाक्य महानगरका उपमेयरहरु सुनिता डंगोल र मंजलि शाक्य अन्य पूर्व साँसदहरु शान्ता चौधरी, कोमल वली, सुनिता वरालसहित बिदेश विभागका आवश्यक सदस्यहरु रहेका छन् ।
यस्तै, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयमसेवक परिचालन समिति गठन गरिएको छ । समितिको आवश्यक संख्यामा भूतपूर्व सैनिक–प्रहरी, युवा, विद्यार्थी, खेलकुद सदस्यहरु रहनेछन् । पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार उपसमिति, गठन गरिएको छ । सदस्यहरुमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारीहरु, गणेश वस्नेत, श्रीधर आचार्य, राजेन्द्र अर्याल, विश्वमणी सुवेदी रहनुभएको छ ।
विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन उपसमिति गठन भएको छ । यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक उपसमिति बनाइएको उहाँले बताउनुभयो ।
साँस्कृतिक उपसमितिको सचिवमा जनसाँस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बालाई तोकिएको छ । उपसमितीका सदस्यहरुमा इन्चार्ज र पदाधिकारीहरु जनसाँस्कृतिक महासंघका संस्कृती विभागका सचिव रहेका छन् । यो उपसमितीको संयोजक तोकिएको छैन ।