• २१ असार २०८२, शनिबार

जालसाजी गरेर जग्गा बिक्री

blog

घोराही समाचारदाता 

घोराही, असार २१ गते । दाङमा सहकारीलाई भाडामा दिएको जग्गा जालसाजी गरेर बिक्री भएको छ । घोराही उपमहानगरपालिका–१४, सरस्वती टोल निवासी ६६ वर्षीय मुलजिता रोकाको नाममा रहेको घोराही–७, सौँडियारस्थित कित्ता नंं. ३ क ९२६ नम्बरको १० कट्ठा आठ धुर जग्गा जालसाजी गरेर बिक्री गरेको रहस्य खुलेको हो । 

उक्त जग्गा कृषि फर्म सञ्चालन गर्न रोकाले जनज्योति पशुपक्षी पालक कृषक सहकारी संस्थालाई २०७८ साल असार १६ गते वार्षिक २४ हजार रुपियाँ तिर्ने गरी १० वर्षका लागि भाडामा दिनुभएको थियो तर जग्गा सहकारी संस्थालाई भाडामा दिँदा सम्झौतामा साक्षी बसेका घोराही–१५ निवासी टीका बुढालगायतका व्यक्तिले २०७८ असार २८ गते जालसाजी गरेर उक्त जग्गा बिक्री गरेको पाइएको छ । 

आफ्नो नाममा रहेको जग्गा आफूलाई थाहै नदिएर बिक्री गरेको रोकाले जग्गाको राजस्व वडा कार्यालयमा तिर्न जाँदा २०७९ सालमा थाहा पाएको बताउनुभयो । जग्गा बिक्रा भएको थाहा पाएदेखि फिर्ताका लागि निरन्तर लागे पनि बुढाले गल्ती भयो, फिर्ता गर्छु नआत्तिनु भन्दै अहिलेसम्म झुक्याएको बताउनुभयो । जग्गा भाडामा दिने सम्झौता भएपछि बुढाले आफूलाई सहकारीको सम्झौता मालपोत कार्यालयमा पनि गर्नुपर्ने भयो भनेर ल्याउन मान्छे घरमा पठाएपछि आफूलाई मोटरसाइकलमा मालपोत कार्यालयमा ल्याएपछि हस्ताक्षर गरेर ल्याप्चे लगाइदिएको रोकाको भनाइ छ । नातामा भदै पर्ने बुढाले झुक्याएर पढ्नै नजान्ने आफूलाई फसाएको भन्दै रोकाले भन्नुभयो, “मलाई पढ्न पनि नआउने । घरमा आम्दानीको बाटो केही नहुँदा छोरीलाई पढाउने पैसा तिर्न सकेको थिइनँ, जग्गा भाडामा लगाउँदा एकमुस्ट पैसा आउने र त्यो पैसाले घर खर्च चलाउनदेखि छोरीलाई पढाउन सजिलो हुने भएकाले भाडामा दिएको थिएँ ।” 

उक्त जग्गा भाडामा दिने सम्झौता भएको १२ दिनपछि २०७८ असार २८ गते २० लाख रुपियाँको कागजी मूल्याङ्कन देखाएर घोराही निवासी लक्ष्मण शर्माको नाममा बिक्री भएको पाइएको छ । त्यसको करिब छ महिनापछि २०७८ पुस २० गते पुनः जग्गा बिक्री भएर लक्ष्मण शर्माबाट घोराही–१५ निवासी परशुनारायण श्रेष्ठको नाममा पास भएको छ । बिक्री गरेको प्रमाणका आधारमा उक्त समयमा पनि जग्गा श्रेष्ठले २० लाख रुपियाँको नै मूल्याङ्कन गरेर बिक्री गरिएको छ । व्यक्तिको नाम, प्रतिष्ठा, राजनीतिक जीवनमा आँच किन ल्याउने भन्दै आफूले पर्खिएको तर बुढाले ठग्ने नियतका साथ हुन्छ हुन्छ भन्दै टार्ने काम गरिरहेको भन्दै उहाँले भन्नुभयो, “जग्गाकै कारण आफ्नो भएकी एउटी छोरीसँगसमेत सम्बन्ध बिग्रिएर बोलचाल बन्द भएको छ ।” 

रोकाले पाँच/पाँच वर्षमा भाडा बुझाउने सम्झौता गरेका बुढाले जग्गा भाडाबापत तीन पटक गरेर एक लाख २० हजार रुपियाँ मात्र दिएको बताउनुभयो । जग्गा बिक्री गरिदिएको बारे आफूले बुढाका ससुरा माओवादीका नेता एवं पूर्वमन्त्री कृष्णबहादुर महरालगायतका परिवारका सदस्य, नेताहरूलाई भने पनि कतैबाट सुनुवाइ नभएको गुनासो छ । 

भूमि सुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत कमलप्रसाद पौडेलले कानुनी प्रक्रिया पूरा गरेर जग्गाको किनबेच भएको बताउनुभयो । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “कार्यालयका तर्फबाट हेर्दा जग्गा बिक्रीका लागि उहाँ आफैँ उपस्थित हुनुहुन्छ, हस्ताक्षरसहितको फोटो खिच्नुभएकाले बिचमा जालसाजी गरे पनि प्रक्रिया भने पुर्‍याएको देखिन्छ ।” जग्गा बिक्रा गरेको आरोप लागेका बुढा भने सम्पर्कमा हुनुहुन्न । अहिले सहकारी संस्था पनि खारेजी भइसकेको र जग्गासमेत जिल्ला अदालतबाट बेचबिखनका लागि रोक्का भएको छ । 

Author

पीडित जग्गाधनी मुलजिता रोका ।