• १७ असार २०८१, सोमबार

जहाँ मत पेटिका लुटियो...

blog

रौतहटको यमुनामाई गाउँपालिका २ स्थित मतदान स्थलबाट मतपेटीका लिएर भाग्दै स्थानीय। तस्बिरः सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, वैशाख ३० गते। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रौतहट जिल्लाको केही स्थानमा विवाद तथा छिटपुट घटनासहित अधिकांश ठाउँमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको छ।

 जिल्लाको यमुनामाई गाउँपालिकाको वडा नम्वर २ भेडियाहीमा दुई वटा मतपेटीका स्थानीयले लुटेका छन्। मतदानस्थलमा विवाद भएपछि स्थानीयले मतपेटीका लुटेर भागेका हुन्। मतपेटिका लुटेर दौडिदै गर्दाका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन्। 

यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृत हरिप्रसाद शर्माले वडा नम्बर १ मा मतपेटिकामा क्षति पुर्याएको र वडा नम्बर २ मा मतपेटिका लिएर भाग्दै गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताउनुभयो।

यमुनामाई गाउँपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा विवाद भएको छ। बिहानैदेखि सामान्य रुपमा मतदान भए पनि दिउँसो साढे तीन बजे विवाद हुँदा झडप भएको हो। झडपको क्रममा मतपेटिका तोडफोड गरिएको छ। 

गढीमाई ३ मा विवाद भएपछि झएको झडपमा १२ जना व्यक्ति घाइते भएका छन्। यस्तै गढीमाई नगरपालिका ६ मा पनि झडप भएको छ। 

रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर बैरगनिया बुथमा मतदानको क्रममा विवाद भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको छ। फतुवा विजयपुर ७ को फतुवा टोलमा मतदान रोकिएको छ। मतदानकै विषयलाई विवाद भएपछि मतदान रोकिएको हो। रौतहटको ६ ठाउँको मतदान स्थगित भएको छ।