• २७ चैत २०८२, शुक्रबार

'प्रतिशोधको राजनीतिले समृद्धि सम्भव छैन'

blog

चरीकोट समाचारदाता 

चरीकोट, चैत २७ गते । ​बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले राज्य सञ्चालनमा प्रतिशोध र पक्षपातको भावना हाबी भए मुलुक कहिल्यै समृद्ध बन्न नसक्ने बताउनुभएको छ।

वन तथा वातावरण मन्त्रालयद्वारा दोलखामा आयोजित सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले सरकारले सबै नागरिकका लागि निष्पक्ष र जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

​"जसरी एउटा घर तब मात्र व्यवस्थित र समृद्ध हुन्छ जब अभिभावकले सबै सदस्यलाई समान व्यवहार गर्दै जिम्मेवार रूपमा नेतृत्व गर्छ, त्यसैगरी राज्यले पनि न्यायपूर्ण भूमिका खेल्नुपर्छ," मन्त्री केसीले भन्नुभयो, "यदि राज्य प्रतिशोधको भावनाले चल्यो भने त्यो कहिल्यै सक्षम र समृद्ध बन्न सक्दैन।"

​सम्बोधनका क्रममा उहाँले वन व्यवस्थापनको नयाँ सोचका बारेमा चर्चा गर्दै वनलाई केवल उपयोग गर्ने स्रोतका रूपमा मात्र नभई संरक्षण र पुनर्जीवनको आधारका रूपमा हेर्नुपर्ने बताउनुभयो। बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले ‘फ्रुट फरेस्ट’ (फलफूलको वन) को अवधारणा अघि सारेको जानकारी दिँदै उहाँले भन्नुभयो, "यसले एकातिर वनलाई अवकाश दिन्छ भने अर्कोतिर वन्यजन्तुलाई वनभित्रै आहारा सुनिश्चित गरी बस्ती पस्नबाट रोक्न सहयोग पुर्‍याउँछ।"

यो समस्या समाधानका लागि अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत आत्मसात गर्दै दीर्घकालीन योजना बनाइरहेको उहाँले उल्लेख गर्नुभयो।

​मन्त्री केसीले सञ्चार माध्यमहरूलाई समाजमा सकारात्मकता र आशा जगाउने समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। मिडियाका हेडलाइनहरू नकारात्मक विषयमा मात्र केन्द्रित हुँदा समाजमा निराशा र आक्रोश बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "हामीले अब रचनात्मक पहल र समाधानमुखी दृष्टिकोणलाई प्राथमिकता दिन आवश्यक छ। साना बालबालिकाले देख्ने र सिक्ने वातावरण सकारात्मक हुनुपर्छ।"

पत्रकार महासङ्घ बाग्मती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका १० जिल्लाका सञ्चारकर्मीहरूको ठुलो उपस्थिति रहेको थियो। सहभागीहरूलाई जलवायु परिवर्तन, वन संरक्षण र वातावरणीय रिपोर्टिङका विविध आयामबारे प्रशिक्षण दिइएको थियो।